हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार पदबाट राजीनामा दिएका छन्। प्रदेशसभाको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने क्रममा सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन्।
राजीनामा घोषणा गरेपछि प्रदेशसभामा विश्वासको मतका लागि हुने भनिएको मत विभाजन प्रक्रिया अघि बढेन।
मुख्यमन्त्री बानियाँले राजीनामा दिनुअघि आफ्नो करिब १३ महिने कार्यकालमा सरकारले गरेका प्रमुख काम तथा प्रगति २८ बुँदामा प्रदेशसभासमक्ष प्रस्तुत गरेका थिए।
नेकपा एमालेले गत ६ साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँले संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको थियो। सोहीअनुसार उनले विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयलाई पत्राचार गरेका थिए। सरकार जोगाउन आवश्यक बहुमत जुटाउने प्रयास सफल हुन सकेन। बानियाँको पक्षमा नेपाली कांग्रेस र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीका सांसद मात्रै रहने अवस्था बनेपछि उनले विश्वासको मत नलिई राजीनामा दिएका हुन्। विपक्षमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा एमाले रहने तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) तटस्थ बस्ने तयारीमा थिए।
बानियाँ २० साउन २०८२ मा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। उनले २७ साउन २०८२ मा प्रदेशसभाबाट ६३ सांसदको विश्वासको मत पाएका थिए। उनी बागमती प्रदेशका छैटौँ मुख्यमन्त्री हुन्।
यसअघि नेपाली कांग्रेसबाट बहादुरसिंह लामा मुख्यमन्त्री थिए। कांग्रेस संसदीय दलमा बानियाँ पक्षले अविश्वास प्रस्तावमार्फत लामालाई हटाएपछि बानियाँ मुख्यमन्त्री बनेका थिए। बानियाँको राजीनामासँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको छ।
बागमती प्रदेशसभामा हाल १०४ सदस्य छन्। प्रदेशसभामा नेपाली कांग्रेसका ३६, नेकपाका २६, नेकपा एमालेका २५, राप्रपाका १२, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्। सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ।
यसअघि बागमती प्रदेशसभामा निर्वाचित ११० सदस्यमध्ये ६ जनाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न प्रदेशसभा सदस्यबाट राजीनामा दिएपछि हाल प्रदेशसभा १०४ सदस्यीय बनेको हो।
