हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिएको राजीनामा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले स्वीकृत गरेका छन्। राजीनामा स्वीकृत भएसँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया अघि बढेको छ।
प्रदेश प्रमुखको कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार बानियाँले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम भदौ १ गतेदेखि लागू हुने गरी दिएको राजीनामा स्वीकृत गरिएको हो।
राजीनामा स्वीकृत गरेलगत्तै प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन्। दाबी पेस गर्ने समयसीमा भदौ ४ गते बिहीबार अपराह्न ४ बजेसम्म तोकिएको छ।
मुख्यमन्त्री बानियाँले सोमबार प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहे पनि आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि विश्वासको मतको प्रक्रियामा नगई राजीनामा दिने घोषणा गरेका थिए। त्यसपछि उनले प्रदेश प्रमुखसमक्ष औपचारिक रूपमा राजीनामा बुझाएका थिए।
बानियाँ नेतृत्वको सरकार २०८२ साउन २० गते संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको थियो। नेपाली कांग्रेस र नेकपा एमालेको साझेदारीमा बनेको उक्त सरकारले करिब १३ महिना प्रदेश सरकारको नेतृत्व गरेको थियो।
एमालेले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो। संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भए पनि प्रदेश सभामा आवश्यक बहुमत जुट्ने सम्भावना नदेखिएपछि बानियाँले राजीनामा दिएका हुन्।
अब प्रदेश प्रमुखले तोकेको समयभित्र बहुमत सांसदको समर्थनसहित दाबी पेस भए नयाँ मुख्यमन्त्री नियुक्त हुनेछन्। तोकिएको समयभित्र धारा १६८ (२) अनुसार सरकार गठन हुन नसके संविधानमा व्यवस्था गरिएको अर्को प्रक्रियाबाट सरकार गठनको पहल अघि बढ्नेछ।
