Search
Close this search box.

भीमफेदीमा स्कारपियो दुर्घटना हुँदा मुख्य न्यायाधीशसहित ६ जना घाइते

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा मंगलबार बिहान स्कारपियो दुर्घटना हुँदा उच्च अदालत वीरगञ्ज, पर्साका मुख्य न्यायाधीशसहित ६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान करिब ७ बजे काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो।

दुर्घटनामा गाडीमा सवार उच्च अदालत वीरगञ्ज, पर्साका मुख्य न्यायाधीश ५७ वर्षीय गोकर्ण डाँगी, रजिस्ट्रार ५१ वर्षीय तारादत्त बडु, चालक ३२ वर्षीय छुनिलाल चौधरी तथा तारादत्त बडुकी श्रीमती ४९ वर्षीया लक्ष्मी बडु, छोरा २५ वर्षीय रितेन्द्र बडु र दिदी ३१ वर्षीया रिता बडु घाइते भएका छन्।

प्रहरीका अनुसार घाइतेमध्ये लक्ष्मी बडुको अवस्था गम्भीर रहेको छ भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ। घाइते सबैलाई उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल पठाइएको छ। उनीहरूलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

चालक चौधरी, मुख्य न्यायाधीश डाँगी र रजिस्ट्रार बडुको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। रितेन्द्र बडुको टाउकोमा चोट लागेको छ भने रिता बडुको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।

दुर्घटनाग्रस्त स्कारपियो घटनास्थलमै रहेको भए पनि सडकमा यातायात भने सुचारु रहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan