Search
Close this search box.

हेटौंडाको क्याम्पाडाँडामा स्कुटर दुर्घटना, २५ वर्षीय युवकको मृत्यु

हेटौँडा–– मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ क्याम्पाडाँडास्थित कान्ति लोकपथ सडकखण्डमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ घर भई हाल हेटौंडाको चौघडा अन्दाजी २५–२६ वर्षीय आवास रन्जितकार रहेका छन् ।

आज मंगलबार बिहान करिब ५ः३५ बजेको समयमा सानोपोखराबाट क्याम्पाडाँडातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०२८ प ९७८९ नम्बरको स्कुटर अनियन्त्रित भई सडकको उत्तर–पूर्वतर्फ पानी जमेको नालामा खसेको थियो । नालामा खसेर दुर्घटना हुँदा स्कुटर चालक रन्जितकारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान मर्निङवाकमा निस्किएका स्थानीय बासिन्दाले सडक किनारको नालामा स्कुटर र मानिस लडेको देखेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरको कन्ट्रोल रुममा खबर गरेका थिए । स्थानीयको खबरलगत्तै वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको प्रहरी टोलीले घटनास्थल सुरक्षित राखेको थियो ।

घटनाको प्रकृति हेरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक उमाशंकर प्रसाद र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक रमेश विष्टको कमाण्डमा टोली खटिएको थियो ।

हाल जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख, प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेर सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको जनाइएको छ । मृतकको शव र दुर्घटनाग्रस्त स्कुटर घटनास्थलमै रहेको र मुचुल्का उठाउनेलगायतका कानुनी प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan