Search
Close this search box.

भीमफेदी दुर्घटना अपडेट : घाइते न्यायाधीश डाँगीसहित ४ जनालाई हेलिकप्टरमार्फत काठमाडौं लगियो

हेटौंडा– मकवानपुरको भीमफेदी–६, जुरिखेलमा मंगलबार बिहान भएको स्कारपियो दुर्घटनामा घाइते भएका उच्च अदालतका न्यायाधीशसहित ४ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी र अन्य ३ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बागमती प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गर्दा सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा न्यायाधीश डाँगीसहित ६ जना घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डीएसपी माधव काफ्लेका अनुसार दुर्घटनामा उच्च अदालत (वीरगन्ज इजलास) का रजिष्ट्रार तारादत्त बडुकी श्रीमती ४९ वर्षीया लक्ष्मी बडुको अवस्था गम्भीर छ । न्यायाधीश डाँगी (५७) सहित गम्भीर घाइते भएकी लक्ष्मी, उनका छोरा २५ वर्षीय रितेन्द्र बडु र दिदी ३१ वर्षीया रिता बडुलाई थप उपचारका लागि काठमाडौं पठाइएको हो ।

त्यसैगरी, दुर्घटनामा घाइते भएका स्कारपियो चालक दाङका ३२ वर्षीय छुनिलाल चौधरी र रजिष्ट्रार ५१ वर्षीय तारादत्त बडुलाई भने थप उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको छ । उनीहरु दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan