हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा मंगलबार बिहान दुर्घटनामा परेको स्कारपियोमा सवार ६ जनामध्ये एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान करिब ७ बजे काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेको थियो।
दुर्घटनामा उच्च अदालत वीरगञ्ज, पर्साका मुख्य न्यायाधीश गोकर्ण डाँगी, रजिस्ट्रार तारादत्त बडु, चालक छुनिलाल चौधरी तथा तारादत्त बडुकी श्रीमती लक्ष्मी बडु, छोरा रितेन्द्र बडु र दिदी रिता बडु घाइते भएका थिए।
घाइतेमध्ये ४९ वर्षीया लक्ष्मी बडुको उपचारका क्रममा काठमाडौंस्थित छाउनी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि छाउनी अस्पताल पठाइएकी लक्ष्मीको मंगलबार बिहान १०ः२९ बजे मृत्यु भएको हो। उनको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ।
अन्य घाइतेमध्ये चालक छुनिलाल चौधरी, मुख्य न्यायाधीश गोकर्ण डाँगी, रजिस्ट्रार तारादत्त बडु, रितेन्द्र बडु र रिता बडुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते सबैलाई उद्धार गरी प्रारम्भमा भीमफेदी अस्पताल लगिएको प्रहरीले जनाएको छ।
