हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१९ बासुदेवस्थित खहरे खोलाले विद्यालयबाट घर फर्किने क्रममा चार विद्यार्थीलाई बगाएकोमा एक बालिकाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन्। एक जना घाइते अवस्थामा उद्धार भएकी छन्।
मंगलबार साँझ करिब ५ः५५ बजे निर्मल माध्यमिक विद्यालय बस्तिपुरबाट घर फर्किने क्रममा लच्का तर्ने क्रममा उनीहरूलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार हेटौंडा–१९ बस्तिपुर बस्ने ८ वर्षीया रोसनी स्याङतान बगाएको स्थानबाट करिब ५०० मिटर तल रुखको जरामा अड्किएको अवस्थामा फेला परेकी थिइन्। उनलाई उद्धार गरी हेटौंडा अस्पताल पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
यस्तै,१३ वर्षीया सिमा भोलन आफैं बाहिर निस्कन सफल भएकी छन्। सामान्य चोट लागेकी उनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको छ।
११ वर्षीया सुमित्रा भोलन र १२ वर्षीया बिनिता भोलन भने अझै बेपत्ता छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
बेपत्ता विद्यार्थीको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ।
