हेटौँडा । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा एमालेका सांसद किरण थापामगरले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि थापामगरले ६३ जना प्रदेशसभा सदस्यको समर्थन जुटाउँदै दाबी पेस गरेका हुन् ।
थापामगरलाई एमालेका २५, नेकपा माओवादी केन्द्रका २६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२ सांसदको समर्थन रहेको छ। उहाँले बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका हुन् ।
दाबी पेससँगै एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया, राप्रपा नेता उद्धव थापा र नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले समर्थनपत्रमा हस्ताक्षर गरेका छन् ।
६३ सांसदको समर्थनसहित दाबी पेस गरेपछि बागमतीमा एमाले नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ।
