हेटौंडा । बागमती प्रदेशमा नेकपा एमालेका किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गर्ने विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रै विवाद देखिएको छ।
राप्रपाको केन्द्रीय नेतृत्वले एमालेका थापालाई मुख्यमन्त्रीमा समर्थन गरिएको भनिएको पत्रमा पार्टीको सहमति नरहेको स्पष्ट पारेको छ। राप्रपाका महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले बागमती प्रदेशका प्रदेश प्रमुखलाई पत्र पठाउँदै पार्टीको निर्णयविपरीत बुझाइएको उक्त पत्रलाई मान्यता नदिन आग्रह गर्नुभएको हो।
राप्रपाले गत साउन २० गते बसेको कार्यसम्पादन समिति बैठकले वर्तमान परिस्थितिमा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिमा सहभागी नहुने निर्णय गरेको जनाएको छ। प्रदेश सरकारबारे आवश्यक निर्णय गर्ने अधिकार पार्टी अध्यक्षलाई दिइएको तथा भदौ १ गते संसदीय दलका नेतालाई अर्को निर्देशन नआएसम्म मतदान र समर्थन प्रक्रियामा तटस्थ बस्न निर्देशन दिइएको राप्रपाको भनाइ छ।
केन्द्रीय निर्णय र निर्देशनविपरीत समर्थन पत्र बुझाइएको भन्दै राप्रपाले त्यसमा आफ्नो सहमति नरहेको जनाएको हो। पार्टीले ‘प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल नहुने’ र अध्यक्षको निर्णय वा अर्को निर्देशन नआएसम्म तटस्थ रहने अडान दोहोर्याएको छ।
यता, राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले भने एमालेका किरण थापा मगरको नेतृत्वमा सरकार गठनका लागि समर्थन जनाउनुभएको छ। नेता थापाले बागमती सरकार गठनका विषयमा केन्द्रसँग समन्वय भइरहेको बताउँदै प्रदेशको विषम परिस्थितिलाई निकास दिनु आफूहरूको जिम्मेवारी भएको दाबी गर्नुभएको छ।
राप्रपा सत्ताका लागि मरिहत्ते गर्ने पार्टी नभएको उल्लेख गर्दै उहाँले प्रदेशको आवश्यकतालाई ध्यानमा राखेर समर्थन गरिएको बताउनुभएको छ। यससँगै बागमतीमा सरकार गठनको विषयलाई लिएर राप्रपाको केन्द्रीय नेतृत्व र प्रदेश संसदीय दलबीच मतभेद सतहमा आएको छ।
