मकवानपुर । हेटौँडा–१९ बस्तीपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी कक्षा ५ मा अध्ययनरत सुमित्रा भ्लोनको खोजी आज पनि जारी राखिएको छ। दिनभर खोजी गर्दा पनि उनी फेला नपरेपछि रात परेसँगै खोजी कार्य स्थगित गरिएको छ।
मंगलबार विद्यालयबाट घर फर्कने क्रममा बासुदेव खोलाले चार जना विद्यार्थीलाई बगाएको थियो। उनीहरूमध्ये एक जनाको सकुशल उद्धार गरिएको थियो भने रेश्मा स्याङ्तानको शव मंगलबार नै फेला परेको थियो। बेपत्ता रहेका दुई जनामध्ये बिनिता भ्लोनको शव बुधबार बिहान फेला परेको हो।
बिनिताको शव फेला परेपछि अहिले सुमित्राको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए। उनका अनुसार बुधबार बिहान साढे ५ बजेदेखि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको टोलीले खोजी गरेको थियो। दिनभर खोजी गर्दा पनि सुमित्रा फेला नपरेपछि रात परेका कारण खोजी स्थगित गरिएको हो।
प्रवक्ता काफ्लेले बिहिबार बिहानैदेखि पुन खोजी कार्य सुरु गरिने बताए।
खोलाले बगाएका चार विद्यार्थीमध्ये राक्सिराङ–१ की कक्षा २ मा अध्ययनरत रेश्मा स्याङ्तानको शव मंगलबार फेला परेको थियो। कक्षा ६ मा अध्ययनरत सीमा भ्लोनलाई भने घाइते अवस्थामा उद्धार गरी हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।
सुमित्राको खोजीका क्रममा हेटौँडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँ पनि बिहानदेखि साँझसम्म घटनास्थलमा रहेका थिए ।
