Search
Close this search box.

कैलाश गाउँपालिकाले बनायो ‘शिक्षक बैंक’: सुत्केरी र किरिया बिदामा पनि पठनपाठन नरोकिने

हेटौँडा– मकवानपुरको कैलाश गाउँपालिकाले सामुदायिक विद्यालयमा हुने शिक्षक अभावको समस्या समाधान गर्न ‘शिक्षक बैंक’ स्थापना गरेको छ । गाउँ कार्यपालिकाको बिहीबार बसेको बैठकले ‘शिक्षक बैंक व्यवस्थापन कार्यविधि–२०८३’ पारित गरेसँगै गाउँपालिकाभित्रका विद्यालयमा शिक्षक दरबन्दी तथा जनशक्ति व्यवस्थापनको बाटो खुलेको हो ।

विशेषगरी शिक्षकहरु सुत्केरी बिदा, किरिया बिदामा बस्दा वा सरुवा भएर जाँदा तत्काल दरबन्दी रिक्त भई विद्यार्थीको पढाइ प्रभावित हुने गरेको छ । यही शैक्षिक क्षति न्यूनीकरण गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी शिक्षक बैंक स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष एवं शिक्षा समिति संयोजक लोकबहादुर मुक्तानले विद्यार्थी संख्या, विषयगत आवश्यकता र शिक्षकको उपलब्धताका आधारमा जनशक्ति व्यवस्थापन गर्न यो कार्यविधि प्रभावकारी हुने बताए । ‘कुनै विद्यालयमा शिक्षक अभाव हुने र कतै बढी हुने लामो समयदेखिको समस्या अब हल हुन्छ,’ अध्यक्ष मुक्तानले भने, ‘भौगोलिक रूपमा विकट र ग्रामीण क्षेत्रका विद्यालयमा पनि अब शिक्षक अभावकै कारण पठनपाठन रोकिँदैन, वास्तविक आवश्यकता पहिचान गरी पारदर्शी ढंगले शिक्षक परिचालन गर्छौं ।’

शिक्षा शाखा प्रमुख समीर जोशीका अनुसार दुर्गम क्षेत्र, आपत्कालीन अवस्था वा शिक्षक लामो बिदामा बसेको बेला शिक्षक बैंकबाट तत्काल आंशिक रूपमा शिक्षक पठाइनेछ । पूर्वाधार विकाससँगै शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर यो अवधारणा ल्याइएको उनले प्रष्ट पारे ।

कसरी हुन्छ शिक्षक परिचालन र योग्यता ?

गाउँपालिकाका स्रोत शिक्षक ध्रुवराज विष्टका अनुसार शैक्षिक बैंकमार्फत शिक्षकहरू पूर्णकालीन नभई माग र समयको आवश्यकताअनुसार परिचालन गरिनेछ । कार्यविधिअनुसार शिक्षक बैंकमा सूचीकृत हुन निम्न योग्यता आवश्यक पर्नेछः

  • बाल विकास सहजकर्ता र विद्यालय सहायक (लेखापाल) : न्यूनतम कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्ने ।
  • प्रावि, निमावि र मावि तह : सम्बन्धित तहका लागि शिक्षक सेवा आयोगले निर्धारण गरेबमोजिमको न्यूनतम शैक्षिक योग्यता हुनुपर्ने ।

कैलाश गाउँपालिकामा हाल ६ वटा माध्यमिक, ४ वटा निम्न माध्यमिक, १० वटा आधारभूत र २३ वटा प्राथमिक गरी कुल ४३ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । शिक्षक बैंकको स्थापनासँगै यी विद्यालयको समग्र शैक्षिक गुणस्तर अभिवृद्धि हुने अपेक्षा गाउँपालिकाले राखेको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan