Search
Close this search box.

हेटौंडा धाउनुपर्ने बाध्यता अन्त्य : कैलाश गाउँपालिकामै सुरु भयो करदाता सेवा

हेटौँडा– मकवानपुरको कैलाश गाउँपालिकाले आफ्नै कार्यालयबाट करदाता सेवा सुरु गरेको छ । आर्थिक वर्ष २०८३/०८४ को सुरुवातसँगै गाउँपालिकाले प्यान (स्थायी लेखा नम्बर) वितरण र करचुक्ता प्रमाणपत्र दिने सेवा विस्तार गरेको हो ।

यो सेवा सुरु भएसँगै सामान्य करसम्बन्धी कामका लागि र प्यान प्रमाणपत्र लिन सदरमुकाम हेटौंडा धाउनुपर्ने स्थानीयको बाध्यता अन्त्य भएको छ ।

गाउँपालिकाको करदाता सेवा कार्यालयबाट कैलाश–७ स्थित ‘सफलता कृषि तथा पशुपन्छी पालन फर्म’की सञ्चालक सजिता प्रजाले प्यान प्रमाणपत्र तथा करचुक्ता लिएकी छन् । गाउँपालिकाबाटै पहिलोपटक सेवा पाउँदा खुसी व्यक्त गर्दै उनले समय र खर्च दुवै जोगिएको बताइन् । “अब हेटौंडासम्म आवतजावत गर्नुपर्ने झन्झट हट्यो,” उनले अन्य व्यवसायीलाई पनि गाउँपालिकाबाटै सेवा लिन आग्रह गर्दै भनिन् ।

भौगोलिक रूपमा विकट मानिने यस गाउँपालिकाका नागरिकलाई लक्षित गर्दै सेवा विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । “स्थानीयस्तरमै व्यवसाय तथा आयकरसम्बन्धी सेवा र प्रक्रियागत सहजीकरण उपलब्ध गराउँदा व्यवसायीको समय र खर्चको बचत हुन्छ,” अध्यक्ष मुक्तानले भने, “यसले कर प्रशासनलाई थप सहज र प्रभावकारी बनाउने हाम्रो विश्वास छ ।”

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत सीताकुमारी खत्रीले करदाता सेवा विस्तारलाई नागरिकलाई सहज, सरल र छिटो सेवा दिने महत्त्वपूर्ण कदमका रूपमा लिएको बताइन् । यसले करको दायरा व्यवस्थित गर्दै स्थानीय राजस्व संकलनमा समेत वृद्धि हुने र करदातामैत्री वातावरण निर्माण हुने उनको भनाइ छ ।

कार्यपालिकाको निर्णयपछि चालू आर्थिक वर्षबाटै व्यक्तिगत, समूह, फर्म र अन्य प्रकृतिका प्यान वितरण सुरु गरिएको करदाता सेवा प्रमुख नरेन्द्र दत्त भट्टले जानकारी दिए । उनका अनुसार, भौगोलिक विकटतालाई ध्यानमा राख्दै सुरु गरिएको यस सेवा अन्तर्गत अब ३० लाख रुपैयाँसम्म कारोबार गर्ने व्यवसायीले गाउँपालिकाबाटै करचुक्ता प्रमाणपत्र समेत लिन सक्नेछन् ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan