हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले हेटौंडा उपमहानगरपालिका–१९ बासुदेवस्थित खहरेमा बगेर मृत्यु भएका बालिकाका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ।
कांग्रेस मकवानपुर जिल्ला कार्यसमितिको शुक्रबार बसेको बैठकले घटनामा मृत्यु भएका तीन बालिका तथा उद्धार गरिएकी एक बालिकाका परिवारलाई जनही २५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो।
गत भदौ २ गते विद्यालयबाट घर फर्कने क्रममा बासुदेव खहरेमा आएको भेलले निर्मल माध्यमिक विद्यालयमा अध्ययनरत चार बालिकालाई बगाएको थियो।
घटनामा ८ वर्षीया रोसनी स्याङ्ताङ, १२ वर्षीया बिनिता ब्लोन र ११ वर्षीया सुमित्रा ब्लोनको मृत्यु भएको थियो भने १३ वर्षीया सिमा भोलनको सकुशल उद्धार गरिएको थियो।
कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले दुःखद् घटनाप्रति शोक व्यक्त गर्दै पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले राहत उपलब्ध गराउने निर्णय गरिएको बताए।
