Search
Close this search box.

बकैया-५ मा बौद्ध बेम्बो कटेज संचालनमा

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–५ तिनतलेमा स्थानीय युवाले करिब ५० लाख रुपैयाँ लगानीमा ‘बौद्ध बेम्बो कटेज’ सञ्चालनमा ल्याएका छन् । स्वदेशमै रोजगारी सिर्जना गर्ने र युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले पासाङ तामाङ र जितन चौलागाईंले कटेज सञ्चालनमा ल्याएका हुन् ।

शुक्रबार बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले कटेजको उद्घाटन गरेका हुन् । करिब तीन महिनामा निर्माण सम्पन्न भएको कटेजमा व्यवसाय विस्तार गर्दै भविष्यमा करिब एक सय जनालाई रोजगारी दिने लक्ष्य रहेको सञ्चालकले बताएका छन् ।

विदेशमा गएर करिब एक वर्ष काम गरी केही सीप र अनुभव हासिल गरेपछि स्वदेशमै केही गर्ने सोचका साथ व्यवसाय सुरु गरेको सञ्चालक जितन चौलागाईंले बताए । विदेशमा सिकेको अनुभवलाई आफ्नै ठाउँमा प्रयोग गर्दै स्थानीय स्रोत, सीप र जनशक्तिमार्फत उद्यम सञ्चालन गर्ने उद्देश्य रहेको उनको भनाइ छ ।

‘विदेश गएर सिकेको अनुभवलाई आफ्नै देशमा प्रयोग गरेर केही गर्नुपर्छ भन्ने सोचले व्यवसाय सुरु गरेका हौँ,’ चौलागाईंले भने, ‘स्थानीय युवालाई रोजगारी दिने र गाउँमै आयआर्जनको अवसर सिर्जना गर्ने हाम्रो मुख्य उद्देश्य हो ।’

हाल कटेज सञ्चालनमा ल्याइएको भए पनि दशैँअघि नै ग्राहकको बसोबासका लागि होटल तथा आवासीय सेवासमेत सञ्चालनमा ल्याउने तयारी रहेको उनले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा बकैया गाउँपालिकाका उपाध्यक्ष खत्रीले युवाले स्वदेशमै व्यवसाय सञ्चालन गरी रोजगारी सिर्जना गर्ने प्रयास गरेकोमा खुसी व्यक्त गर्दै सफलताको शुभकामना दिए ।

‘बकैया गाउँपालिकाका युवामा उद्यम गर्ने दक्षता र क्षमता विकास भएकोमा निकै हर्षित छु,’ उनले भने, ‘यस व्यवसायले स्थानीयको आयआर्जन र जीविकोपार्जनमा समेत राहत पुग्ने विश्वास लिएको छु ।’

स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्दै विदेश पलायन हुने युवालाई स्वदेशमै उद्यम गर्न प्रेरित गर्ने लक्ष्यसहित कटेज सञ्चालनमा ल्याइएको सञ्चालकले बताएका छन्

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan