Search
Close this search box.

हेटौंडाका ६३ प्रतिशत घरधुरीमा खानेपानी बोर्डको सेवा

हेटौंडा । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले हेटौंडा उपमहानगरपालिकाका करिब ६३ प्रतिशत घरधुरीमा खानेपानी सेवा पुर्‍याउँदै आएको छ। बोर्डले नगर क्षेत्रका उपभोक्तालाई दैनिक औसत ८ देखि ९ घण्टा खानेपानी वितरण गर्दै आएको जनाएको छ।
बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेका अनुसार हाल दैनिक करिब ३ करोड ७० लाख लिटर खानेपानी उत्पादन गरी २९ हजार ८ सय ६७ वटा धारामार्फत वितरण भइरहेको छ। हेटौंडा उपमहानगरपालिकाका वडा नं. २, ४, ५, ६, ७, ८, ९, १० र १४ को सम्पूर्ण भूभागमा बोर्डको सेवा पुगेको छ।
त्यस्तै वडा नं. १, ३, ११ र १७ का केही भूभाग तथा वडा नं. १५, १६, १८ र १९ का करिब ७० प्रतिशत भूभागमा समेत बोर्डले खानेपानी सेवा दिइरहेको छ। वडा नं. १२ र १३ मा भने उपभोक्ता समितिमार्फत खानेपानी सेवा प्रवाह हुँदै आएको छ।
बोर्डसँग हाल एक वटा सतहगत मुहान, ४० वटा डिप ट्युबवेल र १९ वटा समवेल रहेका छन्। पानी भण्डारण क्षमता ८ हजार ९ सय ५२ घनमिटर रहेको बोर्डले जनाएको छ। मेन तथा शाखा पाइपलाइनको लम्बाइ करिब ८ सय किलोमिटर पुगेको छ।
बढ्दो शहरीकरणसँगै खानेपानीको माग बढ्दै गएपछि बोर्डले नयाँ पाइपलाइन विस्तार, वितरण प्रणाली सुधार, चुहावट नियन्त्रण तथा आधुनिक प्रविधिको प्रयोगमार्फत सेवा गुणस्तर सुधारलाई प्राथमिकता दिएको छ।
आर्थिक वर्ष २०८२/८३ मा बोर्डले विभिन्न खानेपानी पूर्वाधार निर्माण तथा विस्तारका कामसमेत अघि बढाएको जनाएको छ। हेटौंडा–१५ सानो सुकौलीमा एक लाख लिटर क्षमताको पानी ट्यांकी निर्माण, हेटौंडा–१६ शक्तिमा ९ सय घनमिटर क्षमताका ६ वटा पानी संकलन ट्यांकी, समवेल निर्माण तथा करिब ३ दशमलव ५ किलोमिटर पाइपलाइन विस्तारको काम सम्पन्न भएको छ।

यस्तै हेटौंडा–११ थानाभर्‍याङ–सिमलटार क्षेत्रमा दुई वटा समवेल, पालेघर र ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड पानी ट्यांकी निर्माण गरिएको बोर्डले जनाएको छ। विभिन्न स्थानमा पानी पुनर्भरणका लागि दुई वटा रिचार्ज पिटसमेत निर्माण गरिएको छ।
सहलगानीअन्तर्गत हेटौंडा–९ बेतखोल्ची डाँडामा ६ लाख लिटर क्षमताको पानी भण्डारण ट्यांकी, हेटौंडा–१४ मा डिप ट्युबवेलसहित २ लाख लिटर क्षमताको ट्यांकी र पाइपलाइन विस्तार तथा हेटौंडा–१५ मा ३ लाख लिटर क्षमताको पानी ट्यांकी निर्माणको काम अघि बढिरहेको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan