हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा खानेपानी व्यवस्थापन बोर्डले सेवा विस्तार गर्दै आए पनि नगरका करिब ३७ प्रतिशत घरधुरी अझै बोर्डको प्रत्यक्ष सेवाबाट बाहिर रहेका छन्।
बोर्डको आर्थिक वर्ष २०८२/८३ को विवरणअनुसार हेटौंडा उपमहानगरपालिकाभित्रका करिब ६३ प्रतिशत घरधुरीलाई बोर्डले खानेपानी सेवा उपलब्ध गराउँदै आएको छ। बोर्डले दैनिक औसत ३ करोड ७० लाख लिटर पानी उत्पादन गरी २९ हजार ८ सय ६७ वटा धारामार्फत वितरण गरिरहेको जनाएको छ।
बोर्डले हेटौंडाका वडा नं. २, ४, ५, ६, ७, ८, ९, १० र १४ को सम्पूर्ण भूभागमा सेवा पुर्याएको छ। वडा नं. १, ३, ११ र १७ का केही भूभाग तथा वडा नं. १५, १६, १८ र १९ का करिब ७० प्रतिशत भूभागमा समेत बोर्डको सेवा पुगेको छ।
तर वडा नं. १२ र १३ मा भने बोर्डमार्फत नभई उपभोक्ता समितिहरूबाट खानेपानी सेवा सञ्चालन भइरहेको छ। यसबाहेक बोर्डको सेवा क्षेत्र नपुगेका अन्य स्थानमा समेत सेवा विस्तार गर्नुपर्ने अवस्था रहेको बोर्डले जनाएको छ।
बढ्दो शहरीकरण र जनसंख्या वृद्धिसँगै खानेपानीको माग बढिरहेको अवस्थामा सेवा विस्तारलाई बोर्डले प्राथमिकतामा राखेको छ। नयाँ पाइपलाइन विस्तार, वितरण प्रणाली सुधार, चुहावट नियन्त्रण तथा पानीको स्रोत वृद्धि गर्ने योजना अघि बढाइएको छ।
बोर्डसँग हाल एक वटा सतहगत मुहान, ४० वटा डिप ट्युबवेल र १९ वटा समवेल रहेका छन्। पानी भण्डारण क्षमता ८ हजार ९ सय ५२ घनमिटर तथा मुख्य र शाखा पाइपलाइनको लम्बाइ करिब ८ सय किलोमिटर रहेको छ।
आर्थिक वर्ष २०८२/८३ मा बोर्डले हेटौंडा–१६ शक्तिमा पानी संकलन ट्यांकी, समवेल तथा पाइपलाइन विस्तार, हेटौंडा–११ थानाभर्याङ–सिमलटार क्षेत्रमा दुई वटा समवेल र ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माणलगायतका काम सम्पन्न गरेको छ।
त्यस्तै सहलगानीअन्तर्गत हेटौंडा–९ बेतखोल्ची डाँडामा ६ लाख लिटर क्षमताको पानी भण्डारण ट्यांकी, हेटौंडा–१४ मा डिप ट्युबवेल तथा २ लाख लिटर क्षमताको ट्यांकी र हेटौंडा–१५ मा ३ लाख लिटर क्षमताको ट्यांकी निर्माणलगायतका योजना अघि बढिरहेका छन्।
बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेका अनुसार हेटौंडा – १ देखि १९ वटै वडामा सेवा विस्तार गर्दै सबै नगरवासीलाई स्वच्छ, सर्वसुलभ र गुणस्तरीय खानेपानी उपलब्ध गराउने बोर्डको उद्देश्य छ। हालै प्रकाशित विवरणमा पनि बोर्डले हेटौंडाका १९ वडामध्ये वडा नं. १२ र १३ बाहेकका क्षेत्रमा नियमित खानेपानी सेवा उपलब्ध गराउँदै आएको उल्लेख गरेको छ।
