मनहरी–दुग्ध उत्पादक किसानको हितलाई ध्यानमा राख्दै विभिन्न कार्यक्रम ल्याइरहेको मनहरी गाउँपालिकाले दुग्ध उत्पादक किसानबाट संकलित रकम उनीहरुकै समस्या समाधानमा लगाएको छ । गाउँपालिकाले मनहरी गाउँपालिकाको ३ र ५ नम्बर वडाका दुइ सहकारीलाई दुग्ध चिस्यान मेसिन खरिद गरी हस्तान्तरण गरेको छ ।
चुरियामाई महिला जीवन वातावरण स्वाबलम्बन बहुद्देश्यीय सहकारी संस्था लिमिटेडलाई सोमबार गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीसहितले २ हजार लिटर क्षमताको चिस्यान मेसिन हस्तान्तरण गरिएको हो । अध्यक्ष कालाखेतीले सहकारीका अध्यक्ष अनिल पुडासैनीलाई उक्त मेसिन हस्तन्तरण गरेका हुन् । किसानबाट संकलित दूध चिस्यान केन्द्रमा सुरक्षित राख्नको लागि सहकारीलाई मेसिन हस्तान्तरण गरिएको कालाखेतीले बताए । मेसिन हस्तान्तरण कार्यक्रममा ३ नम्बर वडाध्यक्ष अनन्त प्रकाश अर्याललगायत किसानहरुको सहभागिता रहेको थियो ।
किसानबाट संकलित रकमबाट गाउँपालिकाले मनहरी ५ स्थित वसन्त कृषि सहकारी संस्थालाई पनि दूध चिस्यान मेसिन हस्तान्तरण गरिएको छ । गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले सहकारीका अध्यक्ष गजाधर सुवेदीलाई ३ हजार लिटर क्षमताको मेसिन हस्तान्तरण गरेका हुन् । कार्यक्रममा मनहरी ५ नम्बर वडाध्यक्ष दिपेन्द्र अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
मनहरी गाउँपालिकाले करिब २ वर्षअघिदेखि दुग्ध किसानको भुक्तानी सुनिश्चित गर्दै सहकारीमार्फत दूध खरिद–बिक्रीको व्यवस्थापन सुरु गरेको थियो । त्यसपछि किसानबाट प्रतिलिटर ५० पैसाका दरले रकम संकलन गरिँदै आएको छ । यसअघि जिल्ला सहकारी संघमार्फत दूध कारोबार हुँदा प्रतिलिटर ३ रुपैयाँसम्म कमिशन लिइने गरिएकोमा उक्त शुल्क तिर्नु नपर्ने र गाउँपालिकाले प्रति लिटर ५० पैसामा संकलन गर्दै आएको छ ।
गाउँपालिकाले “कृषि उपज खाता” सञ्चालन गरेर दूध बिक्रीको आधारमा रकम संकलन गर्दै आएको छ । संकलित रकम दुग्ध किसान र सहकारीको पूर्वाधार विकासमा खर्च गर्ने लक्ष्य राखिएको गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले बताए ।
मनहरीमा सहकारीमार्फत दूध संकलन र नियमित भुक्तानी प्रणाली सुरु भएपछि दुग्ध किसान उत्साहित बनेका छन् । गाउँपालिकाले उद्योगसँग समन्वय गरेर किसानलाई प्रत्येक १५ दिनमा भुक्तानी सुनिश्चित गरेपछि गाइभैँसीपालनमा किसानको आकर्षण बढेको छ । पछिल्लो समय यस व्यवस्थाले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु समेत पशुपालनतर्फ आकर्षित हुन थालेपछि मनहरीमा प्रतिदिन करिब १५ हजार लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ ।
