Search
Close this search box.

सुशासनका लागि युवाको अर्थपूर्ण सहभागितामा जोड


हेटौँडा । भ्रष्टाचार नियन्त्रण, सुशासन कायम तथा निर्वाचन प्रणालीमा सुधारका लागि राज्यका हरेक संयन्त्रमा युवाको अर्थपूर्ण सहभागिता र निर्णय प्रक्रियामा नेतृत्वदायी भूमिका आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा गैरसरकारी संस्था महासङ्घ नेपाल, बागमती प्रदेश समितिको आयोजनामा सोमबार हेटौँडामा सम्पन्न “सुशासन, भ्रष्टाचार नियन्त्रण, निर्वाचन प्रक्रिया र राजनीतिक तथा शासकीय संयन्त्रमा युवा सहभागिता” विषयक प्रदेशस्तरीय अन्तरपुस्ता सरोकारवाला संवादमा वक्ताहरूले युवालाई नीति निर्माण र निर्णय प्रक्रियाको अग्रपङ्क्तिमा ल्याउनुपर्ने बताएका हुन्।
कार्यक्रममा गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सचिव नरेशकुमार श्रेष्ठले राजनीतिक तथा सामाजिक परिवर्तन, सुशासन र पारदर्शिताको माग, नागरिक समाजको भूमिका तथा युवाको सक्रिय राजनीतिक सहभागिताबारे प्रस्तुतीकरण दिएका थिए। उनले राजनीतिक दल, निर्वाचन प्रक्रिया र शासकीय संयन्त्रमा युवाको उपस्थिति बढाउने उपायबारे तथ्यसहित विश्लेषण प्रस्तुत गरे।
कार्यक्रममा युवा र सुशासन विषयमा प्यानल छलफलसमेत गरिएको थियो। महासङ्घका केन्द्रीय सचिव बुद्धशरण लामाको अध्यक्षतामा भएको छलफलमा बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेत, राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख चन्द्रकान्त चापागाईं, हेटौँडा क्याम्पसका सहप्राध्यापक एवं सामाजिक अभियन्ता अर्पण पराजुली तथा युवा अभियन्ता एवं अधिवक्ता विशभ अधिकारीले धारणा राखेका थिए। पत्रकार रामकुमार एलनले सहजीकरण गरेको छलफलमा युवा पुस्ताको क्षमता र नयाँ दृष्टिकोणलाई शासकीय सुधारमा उपयोग गर्नुपर्नेमा जोड दिइयो।
महासङ्घ बागमती प्रदेश समितिकी निवर्तमान अध्यक्ष आरती पाठक र महासङ्घ मकवानपुरकी अध्यक्ष रमिला सापकोटाले युवालाई केवल दर्शकका रूपमा नभई नीति निर्माण र निर्णय प्रक्रियाको अग्रपङ्क्तिमा सहभागी गराउन अन्तरपुस्ता संवादलाई निरन्तरता दिनुपर्ने बताए।
युरोपियन युनियनको सहयोगमा आयोजित कार्यक्रममा महासङ्घ बागमती प्रदेश समितिका कार्यवाहक अध्यक्ष कमलकुमार विश्वकर्माले छलफलबाट प्राप्त सुझावलाई नीतिगत सुधारका लागि सम्बन्धित निकायसमक्ष पुर्‍याउने प्रतिबद्धता जनाए। कार्यक्रममा युवा प्रतिनिधि, सामाजिक अभियन्ता, कानुन व्यवसायी तथा नागरिक समाजका प्रतिनिधिको सहभागिता थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan