Search
Close this search box.

हेटौँडा अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप, आकस्मिक कक्ष भरिभराउ


हेटौँडा । भाइरल ज्वरोको प्रकोप बढेसँगै हेटौँडा अस्पतालमा बिरामीको चाप बढेको छ। अस्पतालको बहिरंग सेवासँगै आकस्मिक कक्ष र प्रयोगशाला सेवामा समेत बिरामीको भिड बढेको हो।
अस्पतालका अनुसार पछिल्लो समय दैनिक ३ सयभन्दा बढी बिरामी आकस्मिक कक्षमा आउने गरेका छन्। तीमध्ये करिब ७० प्रतिशत बिरामी भाइरल ज्वरोका रहेका छन्। भाइरल ज्वरोका कारण ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउको दुख्ने, वान्ता हुने तथा पखाला लाग्नेलगायतका लक्षण भएका बिरामीको संख्या बढेको चिकित्सकहरूले बताएका छन्।
बिरामीको चाप बढेपछि आकस्मिक कक्षका शैय्या भरिएका छन्। २४ शैय्या रहेको आकस्मिक कक्षमा आवश्यकताअनुसार एकै शैय्यामा दुईदेखि तीन जनासम्म बिरामी राखेर उपचार गर्नुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ।
आकस्मिक कक्षमा बिरामीको अवस्थाअनुसार हरियो, पहेँलो र रातो क्षेत्र छुट्याइएको छ। प्रत्येक क्षेत्रमा आठआठ शैय्या रहेका छन्। आकस्मिक सेवा २४ सै घण्टा सञ्चालन हुने भएकाले यहाँ १२ जना चिकित्सक, १२ जना नर्स र १२ जना हेल्थ असिस्टेन्टसहितका स्वास्थ्यकर्मी कार्यरत छन्। एक सिफ्टमा तीन जना चिकित्सक खटिने गरेका छन्।
बिरामीको चाप क्षमताभन्दा बढी भएकाले उपचार सेवा प्रवाहमा कठिनाइ भइरहेको उपचारमा संलग्न चिकित्सकहरू बताउँछन्। जनशक्ति सीमित हुँदा कामको दबाब बढेको उनीहरूको भनाइ छ। भाइरल संक्रमणका कारण केही स्वास्थ्यकर्मीसमेत बिरामी भए पनि सेवा निरन्तर दिइरहेका छन्।
भाइरलको प्रकोपसँगै अस्पतालको प्रयोगशाला सेवामा समेत बिरामीको भिड बढेको छ। परीक्षणका लागि आउने बिरामीको संख्या बढ्दा प्रयोगशाला सेवामा चाप थपिएको अस्पतालले जनाएको छ।
सेवाग्राहीहरूले बिरामीको चाप अत्यधिक भए पनि आकस्मिक कक्षबाट उपचार सेवा प्रदान भइरहेको बताएका छन्। जनशक्ति कम भएका कारण स्वास्थ्यकर्मीलाई काम गर्न कठिनाइ भइरहेको उनीहरूको अनुभव छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan