Search
Close this search box.

जेनजी आन्दोलनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न मानव अधिकार आयोगसँग माग


हेटौंडा । मानव अधिकार तथा नागरिक क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले जेनजी आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लंघनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको पूर्ण अनुसन्धान प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन्।
बुधबार आयोग बागमती प्रदेश प्रमुख चन्द्रकान्त चापागाईं मार्फत अध्यक्ष तपबहादुर मगरलाई ज्ञापनपत्र बुझाउँदै प्रतिनिधिहरूले २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी करिब ६०० पृष्ठको पूर्ण अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन्।

ज्ञापनपत्रमा आयोगले २०८३ जेठ १३ गते सार्वजनिक गरेको २९ पृष्ठको संक्षिप्त प्रतिवेदन पूर्ण अनुसन्धान प्रतिवेदनको सारांश मात्र भएको उल्लेख गर्दै त्यसले घटनाको सम्पूर्ण सत्य, अनुसन्धानका आधार, प्रमाणको विश्लेषण तथा आयोगका निष्कर्षबारे पर्याप्त जानकारी दिन नसकेको दाबी गरिएको छ।

लोकतान्त्रिक शासन प्रणालीमा स्वतन्त्र संवैधानिक निकायको प्रतिवेदन सार्वजनिक हुनु पारदर्शिता, जवाफदेहिता र नागरिकको ‘Right to Truth’ अर्थात् सत्यको अधिकारसँग जोडिएको विषय भएको भन्दै प्रतिनिधिहरूले पूर्ण प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।
ज्ञापनपत्रमा नेपालको संविधानको धारा २४९ तथा मानव अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दायित्वअनुसार आयोगले आफ्नो अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उल्लेख गरिएको छ। पूर्ण प्रतिवेदन सार्वजनिक नगरिँदा आयोगको अनुसन्धानको निष्पक्षता र विश्वसनीयतामाथि अनावश्यक प्रश्न उठ्न सक्ने भन्दै तत्काल सार्वजनिक गर्न माग गरिएको हो।
प्रतिनिधिहरूले आयोगले आफ्नो संवैधानिक दायित्व, पेरिस सिद्धान्त तथा मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरूप पूर्ण प्रतिवेदन सार्वजनिक गरी पारदर्शिता, निष्पक्षता र जनविश्वास थप सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन्।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा मानव अधिकार रक्षक सञ्जालका प्रतिनिधि, गैरसरकारी संस्था महासंघ नेपाल बागमती प्रदेश अध्यक्ष कमलकुमार विश्वकर्मा, इन्सेक बागमती प्रदेश संयोजक शिव खकुरेल, नेपाल मानव अधिकार संगठन मकवानपुर अध्यक्ष शर्मिला श्रेष्ठ, सिआन पुनर्स्थापना केन्द्रका सञ्चालक सौजन डिसी, राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेश प्रतिनिधि सरस्वती कटुवाल, सुनौलो शिक्षा नेपाल अध्यक्ष आशिष दुलाल, भीमराइष्ट मकवानपुर संयोजक तथा गैसस महासंघ मकवानपुर जिल्ला उपाध्यक्ष कुमारी वाइबा, गैरसरकारी संस्था मकवानपुर जिल्ला अध्यक्ष रमिला सापकोटा र इन्सेक जिल्ला प्रतिनिधि मञ्जिता मैनाली (मञ्जु)को उपस्थिति थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan