हेटौंडा । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका कर्मचारीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन्।
रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा बाढीपहिरोका कारण जनधनको क्षति हुनुका साथै नागरिक प्रभावित भएपछि बोर्डका कर्मचारीहरूले आफ्नो पारिश्रमिकबाट रकम संकलन गरी उक्त रकम कोषमा जम्मा गरेका हुन्।
संकलित रकम विपदमा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा उपयोग हुने अपेक्षा गरिएको छ। प्राकृतिक विपद्का समयमा सरकारी निकायसँगै नागरिक, संघसंस्था तथा विभिन्न क्षेत्रबाट सहयोग आवश्यक हुने भएकाले मानवीय भावनासहित सहयोग गरिएको कर्मचारीहरूले बताएका छन्।
बोर्डका कर्मचारीहरूले विपदमा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै आफ्नो पारिश्रमिकबाट रकम संकलन गरी सहयोग गरेका हुन्। उनीहरूले बाढीबाट प्रभावित परिवारको शीघ्र उद्धार, राहत तथा पुनस्थापनाको काम प्रभावकारी रूपमा अघि बढाउनसमेत आग्रह गरेका छन्।
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले यसअघि पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न विपद् तथा मानवीय सेवाका कार्यमा सहयोग गर्दै आएको जनाएको छ।
बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेका अनुसार कर्मचारीहरूको तर्फबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
