Search
Close this search box.

प्रगति माविको स्वर्ण जयन्तीमा २१ लाख बढी बचत, यस्तो छ आय–व्यय विवरण

हेटाैँडा- मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ स्थित प्रगति माध्यमिक विद्यालयले आयोजना गरेको स्वर्ण जयन्ती महोत्सवबाट २१ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको छ । विद्यालयले शनिबार एक कार्यक्रम आयोजना गर्दै गत २०८२ पुस २६ देखि माघ ९ गतेसम्म सञ्चालित महोत्सवको आय–व्यय विवरण सार्वजनिक गरेको हो ।

​विद्यालयका प्रधानाध्यापक किशोर पराजुलीका अनुसार महोत्सव सम्पन्न गर्न विभिन्न स्रोतबाट कुल ४८ लाख १८ हजार ३४६ रुपैयाँ संकलन भएको थियो । जसमध्ये विविध शीर्षकमा २७ लाख ४ हजार ७१९ रुपैयाँ खर्च भई २१ लाख १३ हजार ६२७ रुपैयाँ बचत भएको छ । बचत रकममध्ये प्रगति अक्षयकोषमा ९ लाख ४५ हजार ७८१ रुपैयाँ जम्मा गरिएको छ ।

आम्दानीको विवरण

​महोत्सवमा सबैभन्दा ठूलो हिस्सा व्यक्तिगत सहयोगबाट संकलन भएको छ । आम्दानीको विवरण यसप्रकार छ:

  • व्यक्तिगत सहयोग: २८ लाख २ हजार ६३ रुपैयाँ
  • प्रगति अक्षय कोष सहयोग: ९ लाख ४५ हजार ७८१ रुपैयाँ
  • संस्थागत सहयोग (टोल विकास तथा अन्य): ३ लाख ४८ हजार ६३० रुपैयाँ
  • स्मारिका विज्ञापन: १ लाख ८९ हजार ८०० रुपैयाँ
  • संस्थापक प्रअ स्व. राधादेवी शाहको प्रतिमा निर्माण अनुदान:
    • ​हेटौँडा–१४ वडा कार्यालय: १ लाख ९७ हजार रुपैयाँ
    • ​हेटौँडा–८ वडा कार्यालय: १ लाख ४७ हजार ७५० रुपैयाँ
  • स्वर्ण स्तम्भ निर्माण अनुदान (हेटौँडा–९ वडा): १ लाख ८७ हजार ३२२ रुपैयाँ

​यसबाहेक विभिन्न संघ–संस्थाबाट ३ लाख २० हजार ५५० रुपैयाँ बराबरको जिन्सी सामग्री प्राप्त भएको विद्यालयले जनाएको छ ।

खर्चको विवरण

​कुल खर्च भएको २७ लाख ४ हजार ७१९ रुपैयाँमध्ये प्रमुख शीर्षकहरू:

  • स्वर्ण जयन्ती स्तम्भ तथा स्व. राधादेवी शाहको प्रतिमा निर्माण: ९ लाख ८३ हजार ६५९ रुपैयाँ
  • सम्मान तथा पुरस्कार: ४ लाख ६२ हजार ३८१ रुपैयाँ
  • प्रगति स्वर्ण स्मारिका प्रकाशन: ३ लाख ५ हजार १०० रुपैयाँ
  • सरस्वती पूजा तथा खाना/खाजा: २ लाख ५९ हजार ३१० रुपैयाँ
  • मञ्च व्यवस्थापन तथा साउण्ड सिस्टम: १ लाख ३६ हजार ३६५ रुपैयाँ
  • स्टेशनरी तथा शैक्षिक प्रदर्शनी: ७५ हजार १३५ रुपैयाँ
  • साहित्य उत्सव: २२ हजार ४०० रुपैयाँ
  • जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता: १८ हजार रुपैयाँ
  • सञ्चार खर्च: १६ हजार १६० रुपैयाँ
  • शिक्षक सम्मेलन: १ हजार २०० रुपैयाँ

​बाँकी रकम रङरोगन, फोटो/भिडियो, विद्यालयको वृत्तचित्र, विद्यालय गीत निर्माण, फर्निचर, पर्दा खरिद तथा जडान, विद्यार्थी खेलकुद, स्काउट तालिम, बाजा तथा नृत्य समूह पारिश्रमिक, विद्युत र खानेपानी मर्मत लगायतमा खर्च भएको जनाइएको छ ।

​कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र लामिछानेले स्थानीय राजनीतिक दल, शिक्षक, कर्मचारी, पूर्वविद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरूको साझा प्रयासबाट स्वर्ण जयन्ती भव्य रूपमा सम्पन्न भएको बताउँदै सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan