हेटाैँडा- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने भएको छ ।
प्रदेश कार्यसमितिको बैठकले उक्त रकम नेपाली कांग्रेस विपद् व्यवस्थापन कोषमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय गरेको हो ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ र नवलपरासीमा ठूलो क्षति पुगेको भन्दै कांग्रेसले बेपत्ता नागरिकको खोजी र उद्धारलाई तीव्रता दिन सरकारसँग माग गरेको छ। साथै, प्रदेश मातहतका अस्पतालमा घाइतेहरूको निःशुल्क उपचार, बिरामी तथा कुरुवालाई खानाको प्रबन्ध र दीर्घरोगीका लागि आवश्यक औषधिको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
राहत र समन्वयका लागि समिति गठन
बाढी प्रभावित क्षेत्रमा पार्टी संरचनालाई प्रभावकारी रूपमा परिचालन गर्न कांग्रेसले प्रदेश प्रवक्ता तिलकप्रसाद रुवालीको संयोजकत्वमा समन्वय समिति गठन गरेको छ। समितिले प्रभावित जिल्लाहरू—रसुवा, नुवाकोट, धादिङ र चितवनका पार्टी संरचना तथा सरकारी निकायसँग समन्वय गरी उद्धार र राहतका काम अघि बढाउनेछ।
यातायात सहज बनाउन तत्काल वैकल्पिक सडक, झोलुङ्गे पुल र बेलीब्रिज निर्माण गर्न तथा घरबारविहीन नागरिकका लागि अस्थायी र स्थायी पुनर्वासको व्यवस्था मिलाउन पनि कांग्रेसले प्रदेश सरकारसँग माग गरेको छ। चालू आर्थिक वर्षको बजेटमा समावेश १ हजार घर निर्माण तथा आयआर्जनका कार्यक्रमलाई बाढीपीडितको पुनर्स्थापनामा केन्द्रित गर्नुपर्ने कांग्रेसको माग छ।
बैठकले विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, गोसाइँकुण्ड क्षेत्रमा निधन भएकी कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागका सदस्यसचिव रामेश्वर ढकालकी पत्नी शुभद्रा ढकालप्रति पनि बैठकले दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेको छ।
