हेटौंडा– मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९, बस्तीपुरस्थित राप्ती खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरकै मनहरी गाउँपालिका–४, मसिनेका अन्दाजी ७० वर्षीय बलबहादुर रुम्बा रहेका छन् ।
प्रहरीका अनुसार आइतबार बिहान राप्ती खोलाले एक मानिसलाई बगाउँदै तलतिर लगेको स्थानीयले खबर गरेका थिए । उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले तत्काल खोजी कार्य सुरु गरेको थियो । खोजी गर्दै जाँदा बिहान ७ः ४५ बजे बस्तीपुरको पुलभन्दा करिब ५०० मिटर तल खोलाको बीच भागमा काठ र ढुङ्गाको बीचमा अल्झिएको अवस्थामा रुम्बाको शव फेला परेको थियो ।
घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । बिहान १० बजे घटनास्थलको मुचुल्का मुचुल्का उठाउने कार्य सम्पन्न गरी शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
