हेटौंडा– हेटौंडा उपमहानगरपालिका–१६ मा रहेका १६ वटै टोल विकास संस्थाहरुलाई समेटेर ‘टोल विकास संस्था वडा समन्वय समिति’ गठन गरिएको छ ।
बुधबार सम्पन्न भेलाले लीलाधर दाहालको संयोजकत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा मोनिका विक, सचिवमा सरस्वती दुलाल, कोषाध्यक्षमा राधा कार्की र सहसचिवमा पार्वती थापा चयन भएका छन् ।
वडामा रहेका सबै टोल विकास संस्थाबीच समन्वय कायम गर्ने, विकास निर्माणमा नागरिक सहभागिता बढाउने र साझा समस्या सामूहिक पहलमा समाधान गर्ने उद्देश्यले वडा समिति गठन गरिएको हो ।
कार्यक्रममा बोल्दै हेटौंडा–१६ का वडाध्यक्ष रामकृष्ण कोइरालाले टोल विकास संस्था स्थानीय तह र नागरिक जोड्ने महत्वपूर्ण पुल भएको बताए । समिति गठनसँगै वडाका सबै टोल विकास संस्थाहरुलाई थप सक्रिय र व्यवस्थित बनाउन सहयोग पुग्ने भन्दै उनले स्थानीय विकास, सरसफाइ र सामाजिक एकतामा प्रभावकारी भूमिका खेल्न आग्रह गरे ।
त्यस्तै, कार्यक्रमका विशेष अतिथि एवं टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले संस्थाहरुलाई एउटै छातामुनि संगठित गरी परिचालन गर्न वडा समिति महत्वपूर्ण संरचना भएको धारणा राखे ।
ूटोल बलियो भयो भने वडा बलियो हुन्छ, र वडा बलियो भए मात्र समग्र नगरको विकास सम्भव छ,ू अधिकारीले भने, ूत्यसैले प्रत्येक टोल विकास संस्थालाई सक्रिय, सक्षम र एकीकृत रूपमा अघि बढाउनु आवश्यक छ ।ू उनले सामाजिक जागरण, वातावरण संरक्षण र विपद् व्यवस्थापनमा अग्रसर हुन समितिलाई सुझाव दिए ।
कार्यक्रममा नगर समन्वय समितिका उपाध्यक्ष विष्णु ढुङ्गाना, उपमहासचिव देवकुमार श्रेष्ठ, सचिव चन्द्रवती पनेरु लगायतको उपस्थिति रहेको थियो ।
