हेटौँडा । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २०औँ राष्ट्रिय दिवसको अवसरमा हेटौँडामा सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। “प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता” तथा “मानव बेचबिखन अन्त्य गरौँ” भन्ने मूल नाराका साथ शनिबार हेटौँडामा सचेतनामूलक अभियान सञ्चालन गरिएको हो।
बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय तथा मानव अधिकार संरक्षण तथा मानव बेचबिखनविरुद्धको सञ्जाल मकवानपुरको संयुक्त आयोजनामा भएको कार्यक्रममा मानव बेचबिखनविरुद्ध सचेतनामूलक सवारीसाधनमा स्टिकर तथा प्रचार सामग्री वितरण गरिएको थियो।
हेटौँडा उपमहानगरपालिका–१० स्थित बसपार्क क्षेत्रमा आयोजित कार्यक्रममा सार्वजनिक सवारीसाधन तथा होटलहरूमा ‘मानव बेचबिखन अन्त्य गरौँ’ भन्ने सन्देश अंकित स्टिकर टाँस्नुका साथै वितरण गरिएको थियो।
कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख सूर्य दाहाल, सामाजिक विकास मन्त्रालयका शिक्षा अधिकृत उपेन्द्र राय, महिला विकास निरीक्षक कलावती पौडेल,१० नम्बर वडा सदस्य गोमा सुनार, मानव अधिकार संरक्षण तथा मानव बेचबिखनविरुद्धको सञ्जाल मकवानपुरकी अध्यक्ष आरती पाठक, गैरसरकारी संस्था महासंघ बागमती प्रदेशका अध्यक्ष कमल विक, माइती नेपाल मकवानपुरकी संयोजक माया लामा, नेपाल प्रहरी, जनप्रतिनिधि तथा सम्पुर्ण संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो।
कार्यक्रममा सहभागीहरूले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्न यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
माइती नेपाल मकवानपुरकी संयोजक माया लामाले मकवानपुरमा अझै पनि विभिन्न बहानामा किशोरी तथा महिलाहरू बेचबिखनमा पर्ने गरेको बताइन् । पछिल्लो समय मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको भन्दै उनले विभिन्न प्रलोभनमा पारेर किशोरी तथा महिलालाई बेचबिखनमा पार्ने क्रम रोक्न सचेतना आवश्यक रहेको बताइन् ।
मानव बेचबिखनका नयाँ स्वरूप र जोखिमबारे नागरिकलाई सचेत गराउने तथा यसको न्यूनीकरणका लागि सामूहिक प्रयास बढाउने उद्देश्यले दिवसका अवसरमा कार्यक्रम आयोजना गरिएको लामाले जानकारी दिइन् ।
