हेटौंडा । मकवानपुरमा प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सूचनाका आधारमा प्रहरी टोलीले शनिबार अपराह्न करिब ४ः४५ बजे हेटौंडा उपमहानगरपालिका–१५, नयाँ बस्तीस्थित पूर्व–पश्चिम सडकखण्डमा चेकजाँच गरेको थियो।
चुरियामाईतर्फबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००३ प ७८१२ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा चालक हेटौंडा–१२ का २४ वर्षीय अभिषेक भ्लोन तथा मोटरसाइकलमा सवार मनहरी गाउँपालिका–३ डोढेका २४ वर्षीय आशिष घलान र २७ वर्षीय बिमल सुनारलाई प्रहरीले शंकास्पद अवस्थामा फेला पारेको जनाएको छ।
प्रहरीले उनीहरूको खानतलासी गर्दा ३८ ग्राम खैरो हेरोइन लागूऔषध फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले लागूऔषध तथा प्रयोग गरिएको मोटरसाइकल बरामद गरी तीनै जनालाई नियन्त्रणमा लिएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
