मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–८ साततल्लेमा कुटपिट, घर तोडफोड तथा मोटरसाइकलमा आगजनी भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार राति करिब ११ः५५ बजे बागमती गाउँपालिका–६ कायर बस्ने मिलन पाख्रिनका छोरा अन्दाजी २३ वर्षीय टम्बा भन्ने निसान पाख्रिनले मादक पदार्थ सेवन गरी आफ्ना कान्छा काका बुद्ध भन्ने मिलन पाख्रिन र हजुरबुबा अन्दाजी ५५ वर्षीय रामबहादुर पाख्रिनसँग विवाद गरेका थिए।
विवादका क्रममा निसानले काका मिलन पाख्रिनको जस्ताले छाएको इँटा र सिमेन्टबाट बनेको चारकोठे भुइँतले घरको ढोका तथा झ्यालमा क्षति पुर्याएको प्रहरीले जनाएको छ। उनले घरमा रहेको ना.४२ प.६३६६ नम्बरको १५० सीसी पल्सर मोटरसाइकलमा समेत आगजनी गरेको प्रहरीले जनाएको छ।
त्यसैगरी नजिकै रहेको हजुरबुबा रामबहादुर पाख्रिनको घरको ढोका तथा झ्यालमा समेत तोडफोड गर्नुका साथै उनलाई कुटपिट गरेको प्रहरी जानकारी दिएको छ।
प्रहरीले कुटपिट तथा तोडफोडमा संलग्न निसान पाख्रिनलाई नियन्त्रणमा लिएको छ।
कुटपिटबाट रामबहादुर पाख्रिनको टाउको, दुवै हात तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनलाई उपचारका लागि स्थानीय झुरेझुरेमा रहेको साम्भि पोलिक्लिनिक लगिएकोमा थप उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। घटनामा बुद्ध पाख्रिनको पनि उपचार भइरहेको जनाइएको छ।
आगजनीबाट मोटरसाइकल पूर्णरूपमा जलेर नष्ट भएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
