Search
Close this search box.

भोटेकोसी बाढीका मृतक तथा बेपत्ताको पहिचान गर्न मकवानपुरमा ९ जनाको डीएनए नमुना संकलन

मकवानपुर । रसुवाको भोटेकोसीमा आएको बाढीमा परी मृत्यु भएका तथा बेपत्ता व्यक्तिको पहिचानका लागि मकवानपुरमा ९ जना आफन्तको डीएनए नमुना संकलन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीबारदेखि आफन्तको रगतको नमुना संकलन थालेको हो। पहिलो दिन ६ जना र शुक्रबार थप ३ जनाको नमुना संकलन गरिएको मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो।

बाढीपहिरोपछि विभिन्न स्थानमा फेला परेका शव पहिचानमा समस्या भएपछि प्रहरीले वैज्ञानिक विधिबाट पहिचान गरी सम्बन्धित परिवारलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाएको हो।

प्रहरीका अनुसार भदौ १० गते आएको बाढीपछि मकवानपुरका ६० जना अझै सम्पर्कविहीन छन्। शुक्रबार थाहा नगरपालिकाबाट १९ जना एकैपटक डीएनए नमुना दिन आउने तयारी भए पनि विविध कारणले उनीहरू आउन नसकेको डीएसपी काफ्लेले बताउनुभयो।

उहाँका अनुसार कतिपय आफन्त प्रभावित क्षेत्रमा बेपत्ता व्यक्तिको खोजीमा रहेकाले पनि नमुना संकलनका लागि उपस्थित हुन नसकेको हुन सक्छ। सम्बन्धित व्यक्तिले काठमाडौंमै समेत रगतको नमुना दिन सक्ने व्यवस्था रहेकाले मकवानपुरमा अपेक्षाअनुसार आफन्त नआएको हुन सक्ने प्रहरीको भनाइ छ।

डीएनए नमुना संकलनका लागि हेटौँडा अस्पतालमा व्यवस्था मिलाइएको छ। सम्बन्धित आफन्तले राष्ट्रिय परिचयपत्र, नागरिकता वा जन्मदर्तामध्ये परिचय खुल्ने कुनै एक कागजात र पासपोर्ट साइजका दुई प्रति फोटोसहित जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सम्पर्क गर्न सक्ने प्रहरीले जनाएको छ।

शव पहिचानका लागि आमा, बुबा, छोरा वा छोरीमध्ये नजिकका आफन्तको रगतको नमुना संकलन गरिने प्रहरीले जनाएको छ। संकलित नमुनाबाट डीएनए परीक्षण गरी शवको पहिचान भएपछि सम्बन्धित परिवारलाई बुझाउने प्रक्रिया अघि बढाइनेछ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan