मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीस्थित दक्षिणकाली सडकखण्डमा ईभी गाडीभित्र अचानक बेहोस भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार बिहान करिब ९ः३० बजे वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०७७५ नम्बरको ईभी गाडीमा सवार बारा, सिम्रौनगढ नगरपालिका–११ का करिब १९ वर्षीय प्रदीप पटेल सिस्नेरीको टेकर भन्ने स्थानमा पुगेपछि अचानक बेहोस भएका थिए।
घटनाको जानकारी पाएपछि प्रहरी चौकी सिस्नेरीबाट खटिएको टोलीले पटेललाई तत्काल उपचारका लागि स्वास्थ्य चौकी सिस्नेरी पुर्याएको थियो। सामान्य उपचारपछि उनी बोल्न सक्ने अवस्थामा आए पनि श्वास फेर्न गाह्रो भएको बताएपछि थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
पटेलसँग गाडीमा आफन्त वा चिनजानका व्यक्ति भने नरहेको प्रहरीले जनाएको छ। उनको भाइ सन्दीप पटेलसँग फोनमार्फत समन्वय गरिएको थियो।
प्रहरीका अनुसार पटेललाई काठमाडौंको बल्खुस्थित बयोधा अस्पताल पुर्याएर उपचारका क्रममा जाँच गर्दा बिहान ११ः०३ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाबारे काठमाडौं प्रहरी वृत्त बल्खुले मकवानपुर प्रहरीलाई जानकारी गराएको हो।
ईभी गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गाडी चालक बारा, कलैया उपमहानगरपालिका–१९ का करिब २९ वर्षीय तितेश राउत कुर्मी रहेको प्रहरीले जनाएको छ। चालकसँग कागजात रहेको र मादक पदार्थ सेवन नगरेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
युवकको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
