हेटौंडा । मकवानपुरको हेटौंडामा ६ वर्षदेखि बन्द रहेको तौलपुल (धर्मकाँटा) पुनः सञ्चालनमा आएको छ। जिल्ला प्रशासन कार्यालयको सहमतिमा नारायणी यातायात व्यवसायी संघले सोमबारदेखि हेटौंडा–११, थानाभर्याङस्थित तौलपुल पुन सञ्चालनमा ल्याएको हो।
सडकको दीर्घकालीन सुरक्षा र सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले तौलपुल सञ्चालनमा ल्याइएको नारायणी यातायात व्यवसायी संघले जनाएको छ। २०७७ सालदेखि बन्द रहेको तौलपुल बाढीपहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथमा बढेको सवारी चापलाई मध्यनजर गर्दै पुन सञ्चालन गरिएको हो।
नारायणी यातायात व्यवसायी संघका अध्यक्ष सरोज खनालले त्रिभुवन राजपथ अहिले काठमाडौं जोड्ने महत्वपूर्ण मार्ग भएकाले राजमार्गमा क्षमताभन्दा बढी भार बोकेर गुड्ने मालवाहक सवारी नियन्त्रण गर्न तौलपुल सञ्चालनमा ल्याइएको बताउनुभयो।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव बद्रीप्रसाद चौलागाईंले विपद्को समयमा सडकमा ओभरलोड रोक्नुका साथै यातायात सञ्चालनलाई सहज बनाउन तौलपुल पुन सञ्चालन गरिएको बताउनुभयो । उहाँका अनुसार तौलपुल नेपाल सरकारद्वारा जारी धर्मकाँटा नियमावली २०७४अनुसार सञ्चालनमा ल्याइएको हो।
पुन सञ्चालनमा आएको तौलपुलमा सवारीसाधनको भार सीमासमेत तोकिएको छ। १२ चक्के र १० चक्के ठूला मालवाहक सवारीले अधिकतम १५ टनसम्म मात्र भार बोक्न पाउनेछन्। यस्तै६ चक्के तथा ४ चक्के मझौला र साना सवारीले आफ्नो बिलबुकमा तोकिएको क्षमताअनुसार मात्र सामान ओसारपसार गर्नुपर्ने व्यवस्था गरिएको छ।
