Search
Close this search box.

मनहरीबाट १६२ किलो गाँजासहित दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले १६२ किलोभन्दा बढी लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार राति करिब २ः४५ बजे मनहरी गाउँपालिका–९ भाबरस्थित भित्री सडकखण्डमा सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।
भाबरबाट खरङ्गातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२५ च ०८७७ नम्बरको कारलाई ग २ च ६१५ नम्बरको पिकअप गाडीले स्कर्टिङ गर्दै ल्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको गस्ती टोलीले दुवै सवारीसाधनलाई रोकेर जाँच गरेको थियो।
जाँचका क्रममा कारको भित्रपट्टिको सिटमा प्लास्टिकले बेरेर लुकाइछिपाई राखिएको १३ वटा पोकामा रहेको गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गाँजा तौल गर्दा १६२ किलो ७९४ ग्राम रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पिकअप चालकले प्रहरीलाई देखेपछि भाग्ने प्रयास गरेका थिए। प्रहरीले दुवै सवारीसाधन नियन्त्रणमा लिएर कार चालक चितवनको माडी नगरपालिका–५ धोबाहा बस्ने ५६ वर्षीय देव नारायण महतो र पिकअप चालक भरतपुर महानगरपालिका–२४ बस्ने ४८ वर्षीय टेकबहादुर दोङलाई नियन्त्रणमा लिएको छ।
सोधपुछका क्रममा पिकअपले गाँजा बोकेको कारलाई स्कर्टिङ गरेको खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय मनहरीमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan