Search
Close this search box.

मिसन पार्टी जागरण–२०८३; भ्रम चिर्दै एमालेलाई निर्णायक शक्ति बनाउने सिग्देलको दाबी

हेटौंडा । नेकपा एमालेका केन्द्रीय लेखा आयोग सदस्य नवीन सिग्देलले पार्टीको पुनर्जागरण र पुनर्गठनमार्फत एमालेलाई राष्ट्रिय निर्णायक शक्तिका रूपमा पुनःस्थापित गर्ने बताएका छन्।

नेकपा एमाले गढी गाउँपालिका कमिटीद्वारा आयोजित ‘मिसन पार्टी जागरण–२०८३’ अभिमुखीकरण कार्यक्रममा बोल्दै सिग्देलले पार्टीप्रति लगाइएका भ्रम चिर्ने, कार्यकर्ता तथा जनतामा देखिएको निराशा अन्त्य गर्ने र एमालेलाई पहिलो शक्तिका रूपमा स्थापित गर्ने अभियान अघि बढाइएको बताए।

मकवानपुर गढी गाउँपालिकाका लागि ‘मिसन पार्टी जागरण–२०८३’ का केन्द्रीय प्रतिनिधिसमेत रहेका सिग्देलले अभियान वडा, कार्यकर्ता र जनताकेन्द्रित हुने बताए। उनले पछिल्लो समय बालेन्द्र सरकारप्रति जनताको मोहभंग हुँदै गएको दाबी गर्दै संकट र विपत्तिका बेला जनताले नेकपा एमालेलाई खोजिरहेको बताए।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य रामचन्द्र राईले जनतासँगको सम्बन्ध सुदृढ बनाउन प्रत्येक कार्यकर्ता जनताका समस्यासँग जोडिनुपर्ने बताए। उनले सबै तहका नेता तथा कमिटीले विगतका कमी–कमजोरी सच्याउँदै भनाइ र गराइमा एकरूपता कायम गर्नुपर्नेमा जोड दिए।

राईले वर्तमान सरकारका मन्त्रीहरूप्रति जनताको अपेक्षा नरहेको दाबी गर्दै सरकार गैरजिम्मेवार बन्दै गएको बताए। कम्युनिष्ट पार्टीको लक्ष्य निर्वाचन जित्नु मात्र नभई सामाजिक रूपान्तरण पनि भएको उल्लेख गर्दै उनले विकास गतिशील प्रक्रिया भएकाले बढ्दो जनअपेक्षा नेकपा एमालेको नेतृत्वबाट मात्रै सम्बोधन हुन सक्ने दाबी गरे।

नेकपा एमाले मकवानपुर जिल्ला कार्यवाहक अध्यक्ष हिदम लामाले नेपाली राजनीतिमा भूराजनीतिक प्रभाव विगतदेखि नै रहँदै आएको र पछिल्लो समय प्रत्यक्ष हस्तक्षेपका कारण समस्या उत्पन्न भएको बताए।

उनले जेठ २४ गते नेपालको इतिहासमा कालो दिनका रूपमा अंकित भएको दाबी गर्दै राष्ट्रिय सम्पदा, सरकारी तथा निजी सम्पत्ति जलाउने कार्य कुनै पनि आन्दोलनको माग हुन नसक्ने बताए। ‘जेन्जी’ आन्दोलनको नाममा देश जलाउने काम भएको आरोप लगाउँदै लामाले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा तथा विकास र समृद्धिका लागि नेकपा एमालेको विकल्प नरहेको दाबी गरे।

एमालेका नेता लामाले बालेन्द्र नेतृत्वको सरकारको छ महिनाको कार्यसम्पादनमा देखिएको असक्षमताले समेत उक्त कुरा पुष्टि गरेको दाबी गरे।

अभिमुखीकरण कार्यक्रममा पार्टी सदस्यता नवीकरण तथा विस्तार, वडास्तरीय पार्टी सदस्य भेला, वडा तथा टोल कमिटी पुनर्गठन, जनसंगठन पालिका संयन्त्रको भेला तथा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान र चियापानलगायतका कार्यक्रम तय गरिएको पालिका कमिटी सचिव रोम नाथ रेग्मीले जानकारी दिए।

पालिका कमिटी अध्यक्ष जीतबहादुर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिवालय सदस्य विदुर हुँमागाईं, कमिटीका उपसचिव अम्बिका अधिकारीलगायतले मन्तव्य राखेका थिए। कार्यक्रममा प्रदेश कमिटी सदस्य निर्मला देवकोटा, जिल्ला सचिवालय सदस्य मेम्बर लोलगायतको उपस्थिति थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan