Search
Close this search box.

ठेकेदारलाई कालोसूचीमा राख्न सिफारिस गर्दा इन्जिनियरलाई अदालत परिसरमै ज्यान मार्ने धम्की

हेटौँडा– काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस गरेपछि मकवानपुरको कैलाश गाउँपालिकाका एक इन्जिनियरमाथि अदालत परिसरमै ज्यान मार्ने धम्की आएको आरोप लगाइएको छ । यस घटनाको विरोध गर्दै गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरु एकजुट भएर दोषीमाथि कारबाहीको माग गरेका छन् ।

गाउँपालिकाका अनुसार कैलाश वडा नम्बर ८ मा प्रदेश विशेष अनुदानबाट सञ्चालित ‘पाख्रे बृहत खानेपानी तथा सरसफाइ योजना’को ठेक्का थाहा–१० को ‘श्री सन्ध्या निर्माण सेवा’ले लिएको थियो । तर, तोकिएको जिम्मेवारी र समयमै काम पूरा नगरेपछि गाउँ कार्यपालिकाको निर्णयअनुसार उक्त कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिएको थियो ।

सोही विषयलाई लिएर निर्माण कम्पनीका सञ्चालक टाकाराज थापाले उच्च अदालत पाटनको हेटौंडा इजलास परिसरमै गाउँपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर अनिलप्रसाद जोशीलाई अश्लिल गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको गाउँपालिकाले जनाएको छ । घटनालगत्तै गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरुको बैठक बसेर उक्त दुर्व्यवहारको घोर भर्त्सना गरिएको छ । गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सीताकुमारी खत्रीले एक विज्ञप्ति जारी गर्दै कार्यसम्पादनको क्रममा रहेका कर्मचारीमाथि हुने यस्ता गतिविधि कुनै पनि हालतमा सह्य नहुने चेतावनी दिएकी छन् ।

“कर्मचारीले कानुन र प्रचलित प्रक्रियाअनुसार आफ्नो जिम्मेवारी निर्वाह गर्दा असुरक्षित महसुस गर्नुपर्ने अवस्था आउनु अत्यन्तै दुःखद विषय हो,” प्रमुख प्रशासकीय अधिकृत खत्रीले भनिन्, “सार्वजनिक सेवामा रहेका कर्मचारीमाथि व्यक्तिगत तहमा हुने गालीगलौज, धम्की तथा दुर्व्यवहारले कर्मचारीको मनोबल मात्र कमजोर बनाउँदैन, समग्र सेवा प्रवाहमा समेत प्रतिकूल असर पार्छ ।”

कानुनअनुसार हुने कारबाहीको प्रक्रियालाई सम्मान गर्दै संयमित ढंगबाट आफ्ना असहमति राख्न पाइने भए पनि कर्मचारीमाथि नै जाइलाग्ने प्रवृत्तिको कानुनी रूपमै प्रतिवाद गर्ने उनले बताइन् ।

कर्मचारीहरुले असुरक्षित वातावरणमा सेवा प्रवाह गर्न नसकिने भन्दै दोषीमाथि तत्काल कानुन बमोजिम कडा कारबाही गर्न र सुरक्षित कार्यवातावरण निर्माण गरिदिन सम्बन्धित सबै पक्षसँग अपिल गरेका छन् । इन्जिनियरलाई धम्की दिने थापा राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका उपसभापतिसमेत हुन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan