बाख्रा र मत्स्य विकास केन्द्र फेरि छुट्टाछुट्टै सञ्चालन हुने
हेटौँडा । बागमती प्रदेश सरकारले मकवानपुरमा रहेका बाख्रा विकास केन्द्र, चित्लाङ र मत्स्य विकास केन्द्र, कुलेखानीलाई पुनः छुट्टाछुट्टै कार्यालयका रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले विषयगत कार्यक्षेत्र र जिम्मेवारी फरक रहेका दुई केन्द्रलाई छुट्टाछुट्टै संरचनामा सञ्चालन गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकास मन्त्री भरतबहादुर केसीले जानकारी दिए।
प्रदेश सरकारले यसअघि कार्यालयको संख्या घटाउने तथा प्रशासनिक संरचना व्यवस्थित गर्ने क्रममा दुवै केन्द्रलाई एउटै कार्यालयमा गाभेको थियो। तर, बाख्रापालन र मत्स्य क्षेत्रको काम फरक प्रकृतिको भएकाले एउटै संरचनाबाट प्रभावकारी रूपमा काम गर्न कठिनाइ देखिएपछि पूर्ववत् अवस्थामा फर्काउने निर्णय गरिएको मन्त्री केसीले बताए।
बाख्रा विकास केन्द्रले बाख्रापालनको विकास, प्रवद्र्धन तथा त्यससँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दै आएको छ भने मत्स्य विकास केन्द्र माछापालन तथा मत्स्य क्षेत्रको विकासमा केन्द्रित छ।
प्रदेश सरकारले हाल संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम) को कामसमेत अघि बढाइरहेको जनाएको छ। उक्त प्रक्रियाबाट प्रदेश मातहतका कार्यालयको संरचना, दरबन्दी र जिम्मेवारी पुनरावलोकन गरिने मन्त्री केसीले बताए।
उनका अनुसार कार्यालय संख्या घटाउने क्रममा विषयगत रूपमा नमिल्ने केही संरचना पनि एकीकृत भएका छन्। अब कार्यालय गाभ्ने वा छुट्टै राख्ने निर्णय गर्दा प्रशासनिक आवश्यकतासँगै विषयगत समानतालाई समेत आधार बनाइनेछ। ओ एन्ड एमसम्बन्धी प्रस्ताव आगामी मन्त्रिपरिषद् बैठकमा आउने उनले जानकारी दिए।
मन्त्रिपरिषद् बैठकले प्रदेश मातहतका विभिन्न कार्यालयमा कार्यरत अस्थायी कर्मचारीका लागि सालबसाली अस्थायी दरबन्दीसमेत स्वीकृत गरेको छ।
आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयबाट प्राप्त प्रस्तावअनुसार विभिन्न कार्यालयमा आवश्यक अस्थायी दरबन्दी स्वीकृत गरिएको मन्त्री केसीले बताए।
यस्तै, प्रदेश मातहत कार्यरत राष्ट्रसेवक कर्मचारीका लागि संघीय सरकारले निर्धारण गरेको नयाँ तलबमानअनुसार प्रदेशमा पनि नयाँ तलबमान कायम गर्ने निर्णय भएको छ।
अस्थायी तथा करार कर्मचारीले पाउने प्रोत्साहन भत्ताका सम्बन्धमा भने आवश्यक अध्ययन गरी सुझाव दिन कार्यदल गठन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको प्रवक्ता केसीले जानकारी दिए।
