Search
Close this search box.

भोटेकोशी बाढी; मकवानपुरमा १५ आफन्तको डीएनए नमुना संकलन

हेटौँडा । भोटेकोशी बाढीमा परी मृत्यु भएका तथा अझै सम्पर्कविहीन व्यक्तिको पहिचानका लागि मकवानपुरमा १५ जनाको डीएनए नमुना संकलन गरिएको छ।

भदौ १० गते आएको बाढीपछि जिल्लाबाट ६१ जना सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। बाढीपछि भेटिएका शवको पहिचान गर्न प्रहरीले सम्पर्कविहीन व्यक्तिका आफन्तबाट रगतको नमुना संकलन गरिरहेको हो।

गत सातादेखि सुरु भएको नमुना संकलनमा बिहीबार थप तीन जनाको नमुना लिएसँगै संख्या १५ पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए।

उनका अनुसार हेटौँडा अस्पतालमा समेत डीएनए नमुना संकलनको व्यवस्था मिलाइएको छ। उत्तरी मकवानपुरका कतिपय आफन्त काठमाडौंमै पुगेर नमुना दिन सक्ने भएकाले जिल्लामा संकलित नमुनाको संख्या कम देखिएको प्रहरीको भनाइ छ।

बाढी प्रभावित क्षेत्रमा आफन्तहरू स्वयं खोजीमा गएको र काठमाडौंमा रहेका आफन्तले पनि सम्बन्धित निकायमार्फत नमुना दिन सक्ने भएकाले मकवानपुरमा मात्रै संकलित नमुनाको संख्या कम भएको काफ्लेले बताए।

डीएनए परीक्षणबाट शवको पहिचान भएपछि सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न सहज हुने प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan