हेटाैँडा- मकवानपुरको राक्सिराङ गाउँपालिकाले भोटेकोशी नदीको बाढीबाट प्रभावित भएकाहरूका लागि ३० लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
गत भदौ १० गते भोटेकोशीमा आएको भीषण विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि गाउँपालिकाले कुल ३० लाख ६२ हजार ५३९ रुपैयाँ सहयोग गर्ने भएको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लद्वारा जारी प्रेस विज्ञप्तिअनुसार जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा विपद् कोषमार्फत उक्त रकम संकलन गरिएको हो ।
सहयोग रकमको विवरण:
• विद्यालय शिक्षक तथा कर्मचारीहरू: १२ लाख ८० हजार ११६ रुपैयाँ
• पालिका, वडा तथा स्वास्थ्य संस्थाका कर्मचारीहरू: ८ लाख ५४ हजार ७५७ रुपैयाँ
• गाउँपालिका विपद् व्यवस्थापन कोष: ६ लाख ५० हजार रुपैयाँ
• सम्पूर्ण जनप्रतिनिधिहरू: २ लाख २७ हजार ६६६ रुपैयाँ
• तीज विशेष कार्यक्रम खर्च कटौतीबाट: ५० हजार रुपैयाँ
बाढी पीडितका लागि गाउँपालिका अध्यक्ष र उपाध्यक्षले एकएक महिनाको सेवा सुविधा कार्यपालिका वडा अध्यक्ष र सदस्य ले १०-१० दिनको सेवा सुविधा साथै कर्मचारीहरूले श्रेणीअनुसार सात दिन, पाँच दिन र दुई दिनको तलब रकम हस्तान्तरण गरिएकाे पालिका अध्यक्ष मल्लले बताए ।
बाढीका कारण ज्यान गुमाउनेहरूप्रति गाउँपालिकाले श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै विपद्को यस कठिन घडीमा पीडित नागरिकको उद्धार तथा पुनर्स्थापना कार्यमा ऐक्यबद्धता जनाउँदै पालिकाले सबैलाई एकजुट भएर सहयोग गर्न अपिल समेत गरेको छ ।
