Search
Close this search box.

सुत्केरी हुन हेटौंडा अस्पताल आएकी गंगासँग टिकट काट्ने ८० रुपैयाँ नभएपछि…


हेटौँडा । सुत्केरी हुने महिना पुगेपछि ३३ वर्षीया गंगा पुलामी मगर बिहीबार १६ वर्षीया जेठी छोरीलाई साथमा लिएर हेटौँडा अस्पताल आउनुभयो । तर अस्पताल आइपुग्दा उहाँको हातमा उपचारका लागि चाहिने रकम त परको कुरा, टिकट काट्ने ८० रुपैयाँसमेत थिएन । साथमा ल्याएको थोरै पैसा छोरीले भोक लाग्यो भनेपछि खानाका लागि खर्च भयो । त्यसपछि गंगा अस्पताल परिसरमै अलमलिनुभयो । उपचारका लागि अस्पताल पुगेको उहाँ पैसा अभावमा तीन दिनसम्म अस्पताल वरिपरि बस्न बाध्य हुनुभयो ।

बेडमा बस्नुस भनेर भनिए पनि उपचार प्रक्रिया अघि बढाउन आवश्यक रकम नभएपछि आफूले सहज रूपमा उपचार गराउन नसकेको गंगा बताउनुहुन्छ । मकवानपुरगढी गाउँपालिका–२ घर भएकी गंगा दैनिक ज्याला–मजदुरी गरेर आफ्ना पाँच सन्तान हुर्काउँदै आउनु भएकोछ । उहाँका तीन छोरा र दुई छोरी छन् । जेठी छोरी १६ वर्षकी छन् भने कान्छो छोरा दुई वर्षका छन् ।

गंगाकाअनुसार उहाँका श्रीमान् सुरेश पुलामी गत मंसिरमा लामो समयपछि सुर्खेतबाट घर आएका थिए । त्यही समयमा गर्भ बसेको उहाँले बताउनुभयो । त्यसपछि भने श्रीमान् पुनः सम्पर्कमा नआएको उहाँको भनाइ छ । ‘पेटमा बच्चा बसेपछि छाडेर जानुभयो,’ गंगाले भन्नुभयो, ‘ज्याला गरेर छोराछोरी पाल्दै आएकी छु ।’

श्रीमानले आफू र सन्तानको जिम्मेवारी नलिएको तथा कहिलेकाहीँ बुवा–आमालाई लुकेर फोन गर्ने गरेको गंगाको भनाइ छ । आफूलाई र सन्तानलाई बेवास्ता गर्दै आएको उहाँले बताउनुभयो । श्रीमान्‌ले सामाजिक सञ्जालमा अर्कै महिलासँग रहेको देखिने सामग्रीसमेत सार्वजनिक गरेको उहाँको दाबी छ ।

आर्थिक अभावका कारण गर्भवती अवस्थामा समेत गंगाले दैनिक ज्याला गरेर परिवार धान्दै आउनुभएकोछ । तर सुत्केरी हुने समय नजिकिँदा अस्पतालसम्म आइपुगे पनि उपचारको प्रारम्भिक प्रक्रियाका लागि आवश्यक रकम जुटाउन नसक्नु उहाँका लागि अर्को चुनौती बन्यो ।

अस्पतालमा तीन दिन बितेपछि शनिबार बिहान उहाँको अवस्थाबारे हेटौँडा–१० सामुदायिक प्रहरी सेवा अध्यक्ष प्रदीप कँडेल र उपाध्यक्ष शर्मिला श्रेष्ठले जानकारी पाउनुभयो । उहाँहरू तत्काल अस्पताल पुग्नुभयो र गंगाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर आवश्यक स्वास्थ्य जाँच तथा प्रसूति सेवाका लागि आवश्यक सहयोग गर्नुभयो । त्यसपछि गंगालाई प्रसूति वार्डमा भर्ना गरिएको छ ।

सुत्केरी हुन अस्पताल पुगेकी एउटी महिलासँग उपचारको सुरुवाती टिकट काट्ने ८० रुपैयाँसमेत नहुनु केवल व्यक्तिगत आर्थिक अभावको कथा मात्रै होइन । यसले आर्थिक रूपमा कमजोर गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच र सामाजिक सुरक्षाको अवस्थामाथि पनि प्रश्न उठाएको छ ।

गंगाका लागि अहिले सबैभन्दा ठूलो चिन्ता सुरक्षित रूपमा सन्तान जन्माउनु र जन्मिएपछि आफ्ना पाँचै सन्तानको पालनपोषण गर्नु हो । दैनिक ज्यालाबाट गुजारा चलाउँदै आउनुभएको उहाँ भन्नुहुन्छ, ‘छोराछोरीलाई जसरी पनि पाल्नुपर्छ ।’

हिटाबाट

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan