हेटौँडा । सुत्केरी हुन अस्पताल पुगेकी गंगा पुलामी मगरसँग टिकट काट्ने ८० रुपैयाँसमेत नभएको खबर सार्वजनिक भएपछि उहाँका लागि सहयोगी हातहरू अघि बढ्न थालेका छन् ।
मकवानपुरगढी गाउँपालिका–२ की ३३ वर्षीया गंगा बिहीबार सुत्केरी हुने समय नजिकिएपछि १६ वर्षीया जेठी छोरीलाई साथमा लिएर हेटौँडा अस्पताल पुग्नुभएको थियो । तर, अस्पताल पुगेपछि उपचारको सुरुवाती प्रक्रिया पूरा गर्न आवश्यक ८० रुपैयाँसमेत उहाँसँग थिएन ।
साथमा ल्याएको थोरै रकम छोरीलाई भोक लागेपछि खानामा खर्च भएको थियो । त्यसपछि गंगा अस्पताल परिसरमै अलमलिनुभयो । बेडमा बस्न भनिए पनि उपचार प्रक्रिया अघि बढाउन आवश्यक रकम जुटाउन नसक्दा उहाँ तीन दिनसम्म अस्पताल वरिपरि बस्न बाध्य हुनुभयो ।
गंगाको यही अवस्थाबारे समाचार प्रकाशित भएपछि सहयोग आउने क्रम सुरु भएको हो ।
हेटौँडा–११ का स्थानीय तीर्थ रोक्का शनिबार अस्पतालमै पुगेर गंगाको हातमा १० हजार रुपैयाँ दिनुभयो । तीजमा आफ्ना दुई छोरीका लागि कपडा किन्न छुट्याएको रकम छोरीहरूले गंगालाई सहयोग गर्न आग्रह गरेपछि उहाँ अस्पताल पुग्नुभएको हो ।
तीजमा छोरीहरूका लागि कपडा किन्न पैसा छुट्याएको थिएँ । छोरीहरूले हामी कपडा किन्दैनौँ, त्यो पैसा गंगालाई दिनुपर्छ भने,’ रोक्काले भन्नुभयो, ‘त्यसपछि छोरीहरूले भनेकै कुरा मानेर उहाँलाई सहयोग गर्न आएको हुँ ।’
यसअघि हेटौँडा–२ स्थित निको अस्पतालका सञ्चालक सुधिर दाहालले पनि गंगाको उपचारका लागि ५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । सञ्चारमाध्यममा गंगाको अवस्थाबारे समाचार प्रकाशित भएपछि जानकारी पाएर दाहालले उपचारका लागि उक्त रकम सहयोग गर्नुभएको हो ।
यसरी समाचार सार्वजनिक भएपछि गंगाको उपचारका लागि हालसम्म १५ हजार रुपैयाँ सहयोग जुटिसकेको छ ।
गंगा दैनिक ज्याला मजदुरी गरेर पाँच सन्तान हुर्काउँदै आउनुभएको छ । उहाँका तीन छोरा र दुई छोरी छन् । कान्छो छोरा दुई वर्षका छन् । आर्थिक अभावकै बीच गर्भावस्थामा समेत उहाँले मजदुरी गरेर परिवार चलाउँदै आउनुभएको थियो ।
गंगाका अनुसार श्रीमान सुरेश पुलामी गत मंसिरमा लामो समयपछि सुर्खेतबाट घर आएका थिए । त्यही समयमा गर्भ बसेको र त्यसपछि श्रीमान् पुनः सम्पर्कमा नआएको उहाँको भनाइ छ । आफू र सन्तानको जिम्मेवारी श्रीमानले नलिएको गंगाले बताउनुभएको छ ।
अस्पतालमा तीन दिनसम्म आर्थिक अभावका कारण उपचार अघि बढाउन नसकेको अवस्थामा शनिबार हेटौँडा–१० सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष प्रदीप कँडेल र उपाध्यक्ष शर्मिला श्रेष्ठले उहाँको अवस्थाबारे जानकारी पाउनुभयो । उहाँहरू अस्पताल पुगेर आवश्यक समन्वय गरेपछि गंगालाई प्रसूति वार्डमा भर्ना गरिएको थियो ।
तर गंगाको पीडा सार्वजनिक भएपछि अवस्था केही बदलिन थालेको छ । समाचार पढेपछि दुई छोरीले तीजको कपडा किन्न छुट्याएको पैसा सहयोग गर्न बुवालाई आग्रह गरे । अस्पतालका सञ्चालकले पनि उपचारका लागि हात बढाए ।
गंगाको अवस्थाबारे जानकारी पाएपछि हेटौँडा अस्पताल व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईंले उहाँको सुत्केरी उपचारमा लाग्ने आवश्यक सामग्री तथा सेवाको व्यवस्था अस्पतालले नै गर्ने बताउनुभएको छ ।
चौलागाईंका अनुसार गंगालाई सुत्केरी गराउन आवश्यक सामग्री अस्पतालले नै उपलब्ध गराउनेछ । सामान्य प्रसूति होस् वा शल्यक्रिया गर्नुपर्ने अवस्था आए पनि आवश्यक उपचारमा लाग्ने खर्च अस्पतालले बेहोर्ने उहाँले बताउनुभयो ।
“गंगाको उपचारमा आवश्यक पर्ने सबै सामग्री अस्पतालले नै बेहोर्छ । अप्रेसन गर्नुपर्ने अवस्था आए पनि उहाँको उपचार निःशुल्क हुन्छ,’ चौलागाईंले भन्नुभयो, “आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था आउन दिँदैनौँ ।”
८० रुपैयाँ जुटाउन नसकेर अस्पताल परिसरमै अलमलिएकी गंगाको हातमा अहिले १५ हजार रुपैयाँ सहयोग पुगेको छ । उहाँका लागि यो रकमभन्दा ठूलो कुरा भनेको कठिन समयमा आफू एक्लो नरहेको अनुभूति बनेको छ ।
