Search
Close this search box.

बाढी प्रभावित क्षेत्रमा आवागमन सहज बनाउन भारतले दियो तीन मोड्युलर पुल

हेटौँडा । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनः सञ्चालन गर्न भारत सरकारले उपलब्ध गराएका तीन वटा मोड्युलर पुल नेपाललाई हस्तान्तरण गरिएको छ ।

७० मिटर लम्बाइका तीन वटा एकतर्फी मोड्युलर पुल शनिबार सडक डिभिजन कार्यालयमा आयोजित कार्यक्रममा भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले नेपाललाई हस्तान्तरण गर्नुभएको हो ।

गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोले सडक र पुलमा ठूलो क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रमा आवागमन तथा अत्यावश्यक सामग्रीको ढुवानी सहज बनाउन भारत सरकारले पुल उपलब्ध गराएको हो ।

पुल हस्तान्तरण कार्यक्रममा प्रथम सचिव सिंहले बाढीबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनर्निर्माणमा भारतले आगामी दिनमा पनि थप प्रि–फ्याब्रिकेटेड पुल उपलब्ध गराउने बताउनुभयो । पहिलो पुल समयमै सञ्चालनमा आउँदा प्रभावित क्षेत्रका नागरिकलाई आवतजावत र राहत तथा आवश्यक सामग्री ढुवानीमा सहज हुने उहाँको भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथि क्षेत्र नम्बर १ का सांसद प्रकाश गौतमले विपद्का समयमा छिमेकी मुलुकबाट प्राप्त सहयोग महत्वपूर्ण हुने बताउँदै भारत सरकारप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले बाढीका कारण रसुवा–नुवाकोट क्षेत्रमा राहत तथा अत्यावश्यक सामग्री पुर्‍याउन कठिनाइ भइरहेको अवस्थामा ७० मिटर लामो पुल सञ्चालनमा आउँदा आवागमन सहज हुने बताउनुभयो । बाढीबाट देशभर ३५ भन्दा बढी पुल क्षतिग्रस्त भएको उल्लेख गर्दै उहाँले थप पुल उपलब्ध गराउन नेपाल सरकारले भारत सरकारसँग आग्रह गरेको जानकारी दिनुभयो ।

तत्काल आवश्यक रहेका स्थानमा थप पुल उपलब्ध गराउने विषयमा सरकारस्तरमा द्विपक्षीय छलफल भइरहेको समेत सांसद गौतमले बताउनुभयो ।

सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख किरण कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा, सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता माधवप्रसाद काफ्लेलगायतको उपस्थिति थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan