Search
Close this search box.

राप्रपा मकवानपुर अध्यक्षमा ऋषिलाल श्रेष्ठको उम्मेदवारी

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको १०औँ जिल्ला अधिवेशनमा अध्यक्ष पदका लागि ऋषिलाल श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्।
मंगलबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले बुधबार हुने जिल्ला अधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन्। पार्टी संगठनलाई थप मजबुत, चलायमान र प्रभावकारी बनाउने उद्देश्यसहित नेतृत्वका लागि अघि बढेको उनले बताए।
श्रेष्ठले २०४५ सालदेखि राप्रपाको सदस्यका रूपमा सक्रिय रहँदै विभिन्न जिम्मेवारी सम्हालेको उल्लेख गरे। कार्यकर्ताको भावना र संगठनको आवश्यकतालाई प्राथमिकतामा राखेर पार्टीलाई जिल्लामा थप बलियो बनाउने उनको प्रतिबद्धता छ।
अधिवेशनबाट अध्यक्षसहित २३ सदस्यीय जिल्ला कार्यसमिति चयन हुने निर्वाचन समितिले जनाएको छ। निर्वाचित सदस्यहरूमध्येबाटै पदाधिकारी चयन गरिने व्यवस्था छ।
अधिवेशनमा जिल्लाका १० वटै स्थानीय तहबाट छनोट भएका २९० प्रतिनिधिले मतदान गर्नेछन्। राप्रपा मकवानपुरले नयाँ नेतृत्व चयनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले गर्ने कार्यक्रम रहेको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan