हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरास्थित हेटौँडा,भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डमा इभी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
बुधबार काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०७२० नम्बरको यात्रुवाहक इभी सडकबाट करिब एक हजार मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा इभीमा सवार चार जना पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालकसहित आठ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । सवारमध्ये दुई महिला र दुई पुरुष गरी चार जना घाइते भएका छन् ।
घाइतेमध्ये दुई पुरुष र एक महिलालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने एक महिलाको हेटौँडामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण तथा मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
