Search
Close this search box.

इन्द्रसरोवर ईभी दुर्घटना; चार घाइतेको पहिचान खुल्यो, मृतक चारको सनाखत बाँकी

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

बुधबार काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०७२० नम्बरको यात्रुवाहक ईभी हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डमा सडकबाट करिब एक हजार मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएका चारै जना पुरुष रहेको र उनीहरूको नाम, थर तथा ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ईभी चालक बारा कलैया उपमहानगरपालिका–२४ का करिब २० वर्षीय अमिर अन्सारी गम्भीर घाइते भएका छन् । उनको टाउको, दायाँ खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । उनलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ ।

त्यस्तै हेटौँडा उपमहानगरपालिका–११ की करिब २३ वर्षीया कल्पना तामाङ गम्भीर घाइते भएकी छन् । उनको ढाड, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ ।
बारा महागढीमाई नगरपालिका–११ की करिब २१ वर्षीया बबिया कुमारी यादवको अवस्था मध्यम रहेको छ । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पहिचान नखुलेका करिब ३४/३५ वर्षीय एक पुरुष पनि गम्भीर घाइते भएका छन् । बोल्न नसक्ने अवस्थामा रहेका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ ।
ईभीमा चालकसहित आठ जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएका चार जनाको सनाखतका लागि प्रहरीले प्रक्रिया अघि बढाएको छ भने दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan