हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको १०औँ जिल्ला अधिवेशनमा अध्यक्ष पदका लागि शुक्रराज प्रजाले उम्मेदवारी घोषणा गरेका छन् ।
बुधबार हुने अधिवेशनलाई लक्षित गर्दै मंगलबार हेटौँडामा पत्रकार सम्मेलन गरी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
प्रजाले राप्रपा मकवानपुरको नेतृत्वमा युवाको आवश्यकता रहेको भन्दै अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । देशको नेतृत्वमा युवाको सहभागिता बढिरहेको अवस्थामा पार्टीको जिल्ला नेतृत्व पनि युवाले सम्हाल्ने समय आएको उनले बताए ।
आफ्नो उम्मेदवारीले जिल्लाका राप्रपा कार्यकर्तामा नयाँ ऊर्जा थप्ने दाबी गर्दै प्रजाले आफू कसैको विरुद्धमा नभई पार्टीमा गुट–उपगुट अन्त्य गर्दै संगठनलाई एकताबद्ध बनाएर अघि बढ्न उम्मेदवारी दिएको बताए । अधिवेशनमा सहमतिको प्रयास भए पनि आफूले उम्मेदवारी फिर्ता लिएर कसैलाई समर्थन गर्ने अवस्था नरहेको उनले स्पष्ट पारे ।
प्रजा हाल राप्रपाको संगठन विभागअन्तर्गत जनजाति युवा केन्द्रीय सदस्यका रूपमा कार्यरत छन् ।
