Search
Close this search box.

मकवानपुर ईभी दुर्घटना; मृतक दुईको सनाखत, दुईको बाँकी

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा ईभी दुर्घटना हुँदा मृत्यु भएका चारमध्ये दुई जनाको सनाखत भएको छ । अन्य दुई मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सनाखत हुनेमा नवलपरासी पूर्वको कावासोती नगरपालिका–१ का २४ वर्षीय नरबहादुर सिंह ठकुरी र धनुषाको धनुषाधाम नगरपालिका–४ का ४३ वर्षीय सुरज भट्टराई रहेका छन् ।

ठकुरीको साथमा रहेको राहदानी तथा नागरिकता र भट्टराईको साथमा रहेको नागरिकता तथा राष्ट्रिय परिचयपत्रका आधारमा उनीहरूको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

बुधबार काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०७२० नम्बरको यात्रुवाहक ईभी हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डअन्तर्गत सुकौरामा सडकबाट करिब एक हजार मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा चालकसहित आठ जना सवार रहेकोमा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए ।

घाइतेमध्ये बारा कलैया उपमहानगरपालिका–२४ का करिब २० वर्षीय चालक अमिर अन्सारी, हेटौँडा उपमहानगरपालिका–११ की करिब २३ वर्षीया कल्पना तामाङ र पहिचान नखुलेका करिब ३४/३५ वर्षीय पुरुषको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बारा महागढीमाई नगरपालिका–११ की करिब २१ वर्षीया बबिया कुमारी यादवको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृतक अन्य दुई जनाको सनाखतका लागि प्रहरीले प्रक्रिया अघि बढाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan