हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा भएको यात्रुवाहक ईभी दुर्घटनामा घाइते चारै जनाको पहिचान खुलेको छ । दुर्घटनामा मृत्यु भएका चार जनाको पनि सनाखत भएको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०७२० नम्बरको यात्रुवाहक ईभी मंगलबार दिउँसो सडकबाट करिब एक हजार मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा बारा कलैया उपमहानगरपालिका–२४ का करिब २० वर्षीय चालक अमिर अन्सारी, मकवानपुर हेटौँडा उपमहानगरपालिका–११ की २३ वर्षीया कल्पना तामाङ र मकवानपुरगढी गाउँपालिका–१ का २३ वर्षीय राजकुमार स्याङतान गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै, बारा महागढीमाई नगरपालिका–११ की २१ वर्षीया बबिया कुमारी यादव मध्यम घाइते भएकी छन् । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा मृत्यु हुनेमा नवलपरासी पूर्व कावासोती नगरपालिका–१ का २४ वर्षीय नरबहादुर सिंह ठकुरी, धनुषा धनुषाधाम नगरपालिका–४ का ४३ वर्षीय सुरज भट्टराई, पर्सा छिपहरमाई गाउँपालिका–२ टिहुकीका ४४ वर्षीय भुवनेश्वर साह कानु र बारा परवानीपुर गाउँपालिका–३ लिप्निमालका ३२ वर्षीय सरफरोस मियाँ रहेका छन् ।
प्रहरीका अनुसार मृतक नरबहादुर सिंह ठकुरीको पहिचान राहदानी तथा नागरिकता, सुरज भट्टराईको नागरिकता तथा राष्ट्रिय परिचयपत्र र भुवनेश्वर साह कानुको राहदानीका आधारमा खुलेको हो । सरफरोस मियाँको पनि सनाखत भएको प्रहरीले जनाएको छ ।
दुर्घटनास्थलबाट उद्धार गरिएका घाइतेलाई तत्काल उपचारका लागि पठाइएको र मृतकको शव हेटौँडा अस्पताल ल्याउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ ।
