Search
Close this search box.

हेटौँडा–४ मा नगरस्तरीय क्रिकेट र तेक्वान्दो प्रतियोगिता हुँदै

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–४ वडा कार्यालय र नगरस्तरीय क्रिकेट व्यवस्थापन समिति हेटौँडा–४ को आयोजनामा नगरस्तरीय क्रिकेट तथा तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

खेलकुदमार्फत स्वस्थ, अनुशासित, सिर्जनशील तथा जिम्मेवार नागरिक निर्माणसँगै स्थानीय खेलाडीको प्रतिभा पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

नगरस्तरीय क्रिकेट प्रतियोगिता–२०८३ मा हेटौँडा उपमहानगरपालिकाका विभिन्न वडाबाट टोली सहभागी हुने वडा अध्यक्ष नवीन सिग्देलले जानकारी दिए । प्रतियोगिताको प्राविधिक सहयोग मकवानपुर क्रिकेट संघ, हेटौँडाले गर्नेछ ।

त्यस्तै, दोस्रो नगरस्तरीय तेक्वान्दो प्रतियोगिता–२०८३ (जुनियर आमन्त्रण) मा १४ वटा डोजाङका करिब १६० खेलाडी सहभागी हुने व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्कीले बताए । प्रतियोगितामा महिला तथा पुरुष खेलाडीका लागि विभिन्न तौल समूहमा प्रतिस्पर्धा गराइनेछ ।

क्रिकेटतर्फ विजेता टोलीले ५० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिज, उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र नवप्रतिभावान खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलका ‘म्यान अफ द म्याच’लाई समेत नगद पुरस्कार प्रदान गरिनेछ ।

तेक्वान्दोतर्फ उत्कृष्ट खेलाडी तथा टोलीलाई ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan