Search
Close this search box.

रमा आले मगर बनिन् बागमतीको कृषि मन्त्री

हेटौँडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट रमा आले मगर बागमती प्रदेशको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री नियुक्त भएकी छन्। उनले शुक्रबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन्।

आले मगर यसअघि शालिकराम जमकट्टेल नेतृत्वको बागमती प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्री थिइन्।

बागमती सरकारमा नेकपाको भागमा परेको तीनमध्ये आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी यसअघि नेकपा माओवादी केन्द्र पृष्ठभूमिका सरल सहयात्री पौडेलले सम्हाल्दै आएका छन्। आले मगरको नियुक्तिसँगै नेकपाको भागमा परेको अर्को मन्त्रालयले पनि पूर्णता पाएको हो।

नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संयुक्त सरकारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक सात मन्त्रालय छन्। यसअघि भदौ ४ गते छ जना मन्त्री नियुक्त गरिए पनि आन्तरिक मामिला, कानुन तथा सहकारी र कृषि मन्त्रालय रिक्त थिए। एमालेका ज्ञानबहादुर तामाङलाई भने विनाविभागीय मन्त्री नियुक्त गरिएको थियो।

भागबन्डाअनुसार बागमती सरकारमा एमालेले मुख्यमन्त्रीसहित तीन, नेकपाले प्रदेशसभाको सभामुखसहित तीन र राप्रपाले तीन मन्त्रालय पाएका छन्।

हाल नेकपाबाट सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना र रमा आले मगर कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री छन्। एमालेबाट भरत केसी भौतिक पूर्वाधार मन्त्री छन् भने राप्रपाबाट गिरबहादुर तामाङ स्वास्थ्य तथा सामाजिक विकास, राजु विष्ट खानेपानी, ऊर्जा तथा सिँचाइ तथा राजेन्द्र प्रजापति उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री छन्।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan