हेटौँडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हेटौँडालाई मुलुककै महत्वपूर्ण ऊर्जा केन्द्रका रूपमा विकास गर्न नेपाल विद्युत् प्राधिकरणले दीर्घकालीन योजना बनाएर काम अघि बढाउनुपर्ने बताउनुभएको छ ।
नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौँडामा आयोजित आन्तरिक कार्यालयसम्बन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले हेटौँडा आगामी दिनमा पूर्वपश्चिम विद्युत् आदानप्रदानको महत्वपूर्ण केन्द्र बन्ने बताउनुभयो । त्यसका लागि हेटौँडा डिभिजन कार्यालय र मातहतका वितरण केन्द्रको क्षमता तथा भूमिका पनि सोहीअनुसार विस्तार गर्नुपर्ने उहाँको भनाइ थियो ।
उहाँले बढ्दो विद्युत् माग, औद्योगिक विस्तार र प्रसारण प्रणालीको विकासलाई छुट्टाछुट्टै नभई एकीकृत योजनाका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । हेटौँडा औद्योगिक क्षेत्रबाट मात्रै करिब ४० मेगावाटसम्म विद्युत् आवश्यक पर्ने प्रारम्भिक मौखिक अनुरोध आइसकेको जानकारी दिँदै उहाँले भविष्यको मागलाई ध्यानमा राखेर वितरण प्रणाली सुदृढ बनाउन निर्देशन दिनुभयो ।
मन्त्री श्रेष्ठका अनुसार हेटौँडा–ढल्केबर प्रसारण लाइनमा देखिएका समस्या क्रमशः समाधान हुँदै गएका छन् । प्रसारण प्रणाली थप मजबुत भएपछि हेटौँडाबाट भरतपुर हुँदै बुटवलसम्म विद्युत् प्रवाह गर्ने प्रणालीले राष्ट्रिय ऊर्जा प्रणालीमा महत्वपूर्ण योगदान पुर्याउने उहाँले बताउनुभयो ।
उहाँले वितरण केन्द्रहरूलाई तत्काल देखिएका समस्या समाधानमा मात्र सीमित नभई आगामी १० वर्षको विद्युत् खपतलाई आधार बनाएर योजना निर्माण गर्न निर्देशन दिनुभयो । हाल प्रतिव्यक्ति विद्युत् खपत करिब ४६० युनिट रहेको र आगामी १० वर्षमा त्यसलाई १ हजार ५०० युनिट पुर्याउने लक्ष्य रहेकाले वितरण प्रणालीको पूर्वतयारी अहिलेबाटै आवश्यक रहेको उहाँको भनाइ थियो ।
रत्ननगर–टाँडी तथा मकवानपुर क्षेत्रका वितरण केन्द्र बढ्दो सहरीकरण र विद्युत् खपतका दृष्टिले महत्वपूर्ण बन्दै गएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले वितरण प्रणाली सुधारका योजना अघि बढाउन निर्देशन दिनुभयो । उहाँले विद्युत् महसुलको बक्यौता असुलीलाई समेत प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।
वितरण केन्द्रहरूले आफ्नो क्षेत्रको बक्यौताको अवस्था अध्ययन गरी असुल गर्नुपर्ने रकम पहिचान गर्ने, आवश्यक पत्राचार तथा सम्बन्धित निकायसँग समन्वय गर्ने कामलाई प्रभावकारी बनाउनुपर्ने उहाँले बताउनुभयो ।
प्रविधिको तीव्र विकाससँगै विद्युत् प्रणालीको सञ्चालन तथा मर्मतसम्भारमा नयाँ चुनौती थपिएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले जनशक्ति, उपकरण र आवश्यक स्रोतसाधनको अवस्था पहिचान गरी क्षमता विकासका लागि प्रस्ताव पठाउन आग्रह गर्नुभयो । आवश्यकताअनुसार भौतिक संरचना, उपकरण तथा प्रविधिको विकासमा मन्त्रालयले सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
प्राधिकरणले अघि बढाएको आईएसओ प्रमाणीकरण प्रक्रियालाई पनि व्यवस्थित रूपमा अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।
प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौँडाका प्रमुख सुरेन्द्रकुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठ, कर्मचारी तथा सञ्चारकर्मीहरूको सहभागिता थियो ।

