Search
Close this search box.

बोरामा हालेर फालिएको शवको दुई महिनापछि पहिचान, भारतीय नागरिक पक्राउ

मकवानपुर । मकवानपुरको हेटौंडास्थित सामुदायिक वनमा बोरामा हालेर खाल्डोमा फालिएको अवस्थामा भेटिएको महिलाको शवको करिब दुई महिनापछि पहिचान खुलेको छ।

हेटौंडा उपमहानगरपालिका–१५ स्थित सेल्फी रोड नजिकैको सामुदायिक वनमा गत साउन २२ गते भेटिएको शव भारतकी २२ वर्षीया अफ्रिना प्रविन भन्ने रुची खातुनको रहेको डीएनए परीक्षणबाट पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार मृतक खातुन भारतको बेतिया बैरिया थाना, सरैया भटवलिया–६ निवासी विवाहित महिला हुन्। उनी गत वैशाख ९ गते ६ महिनाकी छोरीसहित श्रीमान्को घरबाट दाँतको उपचारका लागि भन्दै निस्किएपछि सम्पर्कविहीन भएकी थिइन्।

मृतकको शव पहिचानका लागि प्रहरीले कपडा, गहनालगायतका विवरणका आधारमा खोजी अघि बढाएको थियो। सो क्रममा भारतीय प्रहरीसँग समन्वय गरी अनुसन्धान गर्दा उनको पहिचान खुलेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा रुची खातुन चितवनको भरतपुर महानगरपालिका–३, बेलचोक, नौघरे, गणेशमार्गमा कोठा भाडामा लिएर बस्दै आएका २७ वर्षीय राहुल कुमार गुप्ता भन्ने ईश्वर कुमारसँग बस्दै आएको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अनुसन्धानबाट रुची खातुनको हत्या भएको र घटनामा राहुल कुमार गुप्ताको संलग्नता रहेको खुलेको छ।

मृतककी आमा फातमा खातुनले भदौ ४ गते राहुलविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएकी थिइन्। डीएनए परीक्षणका क्रममा मृतकको डीएनए उनकी आमाको नमुनासँग मेल खाएपछि असोज १६ गते शुक्रबार फातमाले शव बुझेर लगेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न भनिएका राहुलविरुद्ध भारतको नगर थाना बेतियामा समेत मुद्दा दर्ता भएको र उनी हाल भारतको कारागार कार्यालय बेतियामा थुनामा रहेको प्रहरीले  जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan